पत्रकार एलबी विश्वकर्माको मृत्युबारे छानबिन गर्न अस्पतालद्वारा समिति गठन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पत्रकार एलबी विश्वकर्माको मृत्युबारे छानबिन गर्न अस्पतालद्वारा समिति गठन


९ माघ २०७८, आइतबार


काठमाडौँ । पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको मृत्युको घटनाबारे छानबिन गर्न निजामती कर्मचारी अस्पताल (सिभिल)ले छानबिन समिति गठन गरेको छ ।

अस्पतालका इमर्जेन्सी विभागका प्रमुख डा. दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिको सदस्यमा अस्पतालका उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर इन्चार्ज भेषबहादुर बस्नेत रहेका छन् । समितिले तीन दिनभित्र पत्रकार विश्वकर्माको मृत्युमा भएको लापरबाहीबारे सत्य तथ्य सार्वजनिक गर्ने जनाएको छ ।

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टका अनुसार यसबारे पत्रकार महासङ्घले पनि अध्ययन गरिरहेको छ । सिभिल अस्पतालले उपचार गर्ने रकम नभएकै कारण पत्रकार विश्वकर्मालाई अर्को अस्पताल लैजान भनेको र त्यही कारण विश्वकर्माको मृत्यु भएको आफन्तको आरोप छ ।

विश्वकर्माको मृत्युपछि नेपाल पत्रकार महासङ्घ, क्रियाशील दलित पत्रकार सङ्घ, श्रमजीवी पत्रकार सङ्घ र प्रेस काउन्सिल लगायत सङ्घसंस्थाले समेत निजामती अस्पतालमा पत्रकार विश्वकर्माको उपचारमा भएको लापरबाहीबारे निष्पक्ष छानबिन गर्न माग गरेका थिए । टिभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको गत बिहीबार बिहान साढे ३ बजे पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस