कर्मचारीलाई दिइने कोभिड बिदा अपर्याप्त हुँदा संक्रमण सर्ने जोखिम, कति दिन पाइन्छ बिदा ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीलाई दिइने कोभिड बिदा अपर्याप्त हुँदा संक्रमण सर्ने जोखिम, कति दिन पाइन्छ बिदा ?


६ माघ २०७८, बिहिबार


काठमाडौँ । सरकारले दिने कोभिड बिदा अपर्याप्त देखिएको कर्मचारीले बताएका छन् । अस्पतालबाट डिस्चार्ज भएको तीन दिनसम्म तथा होम आइसोलेसनमा बसेकोमा सात दिनसम्मको लागि र कनट्र्याक्ट ट्रेसिङमा परेकोमा परीक्षण नगरेसम्म बढीमा पाँच दिनसम्म दिने सरकारको निर्णय अपुग भएको कर्मचारीको भनाई छ ।

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि भन्दै पुस ३० गते विभिन्न ३६ बुँदे निर्णय गरेको छ । सङ्क्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी गरिएको निर्णयमा कोभिड सङ्क्रमित कर्मचारीले पाउने बिदा बारेसमेत उल्लेख गरिएको छ ।

मुख्यसचिव शंकरदास वैरागीद्वारा हस्ताक्षरित निर्णयको बुँदा नं. ३० मा ‘जुन कुनै सार्वजनिक संस्थाको पदाधिकारी वा कर्मचारी कोभिड(१९ बाट सङ्क्रमित भएमा अस्पताल बसेकोमा अस्पतालबाट डिस्चार्ज भएको तीन दिनसम्म तथा होम आइसोलेसनमा बसेकोमा सात दिनसम्मकोलागि र कनट्र्याक्ट ट्रेसिङमा परेकोमा सम्बन्धित सुपरिवेक्षकको अनुमति लिई कोभिड(१९ परीक्षण नगरेसम्म बढीमा पाँच दिनसम्मको लागि निजको सञ्चित वा पाउने बिदाबाट कट्टा नहुने गरी बिदा जनाउने’ भनिएको छ ।

नयाँ भेटियन्टको सङ्क्रमण देशव्यापीरुपमा बढेसँगै सङ्क्रमित हुने कर्मचारीहरूको सङ्ख्या दिनहुँ बढीरहेको छ । प्रत्येक कार्यालयमा हरेजजसो दिन कर्मचारीहरु संक्रमित भईरहँदा छोटो अवधि मात्रै बिदा दिँदा निको हुन नपाउँदै कार्यालय फर्किनुपर्ने अवस्थाले सहकर्मीहरुलाई सर्ने सम्भावना उच्च रहेका एक सचिवले बताए ।

त्यसो त कर्मचारीसँग सम्बन्धित निर्णयहरु गरिँदा केन्द्रीय निकायका हिसावले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रस्ताव जानुपर्ने तथा छलफलसम्म हुनुपर्नेमा यसपटक सो समेत नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका ति सचिवको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस