रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्दै


५ माघ २०७८, बुधबार


काठमाडौँ। रोजगारीका लागि ९९ जना नेपाली कामदार आज (बुधबार) इजरायल उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बुधबार राति ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायलका लागि उड्ने जानकारी दिएका छन् ।

उनले यो पहिलो उडान रहेको बताए । त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ तारिकका दिन दुई उडान हुने उनले जानकारी दिए।

‘पहिलो पटक १२५ जना नेपाली कामदारको उडानको तयारी गरेका थियौँ ।,’ उनले भने, ‘तर २६ जना कामदारमा कोरोना पोजेटिभ देखिएका कारण सङ्ख्या घट्यो । अहिले १२५ मध्ये ९९ जना आज राति ११ बजे इजरायल उड्नुहुन्छ ।’

यसै गरी दोस्रो चरणमा १६२ जना इजरायल उड्ने भएका छन् । माघ १५ र १८ गते कामदार इजरायल उड्ने तय भएको विभागका निर्देशक सुनुवारले जानकारी दिए ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो । श्रम सम्झौतापछि विभागले विज्ञापन सुरु गरेको १७५ दिन अर्थात् २५ हप्तामा नेपाली कामदारलाई इजरायल उडाउने टुङ्गो लागेको उनले बताए ।

इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौता पत्रमा हालसम्म ९९४ कामदारसँग सम्झौता भइसकेको छ । विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको थियो । त्यसमा इजरायलले ११ सय ७५ जना छनोट गरेको जानकारी उनले दिए ।

नेपाल सरकार र इजरायल सरकारको सम्झौता अनुसार छनौट प्रक्रियाको सम्पूर्ण कार्य वैदेशिक रोजगार विभागको नेतृत्वमा सम्पन्न भएको उनले बताए । इजरायल जाने नेपाली कामदार पाँच वर्षको लागि जाँदै छन् । तर, उनीहरुले प्रत्येक वर्ष भिसा नवीकरण गर्नुपर्ने उनको भनाइ छ ।

इजरायल जाने नेपाली कामदारलाई इजरायलस्थित रोजगारदाताले १४ दिन क्वारेन्टिन राख्नेछ । इजरायल सुरक्षित गन्तव्यमध्ये एक हो र अर्को आकर्षक पारिश्रमिक पनि हो ।

Tags :
प्रतिक्रिया दिनुहोस