सुकुम्वासी आयोगले दिएको जग्गा बिक्री गर्ने मालपोतका कर्मचारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुकुम्वासी आयोगले दिएको जग्गा बिक्री गर्ने मालपोतका कर्मचारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२१ पुस २०७८, बुधबार


अख्तियार

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुकुम्वासी समस्या समाधान आयोगबाट प्राप्त जग्गा बिक्रीमा संलग्न मालपोत कार्यालयका कर्मचारी र खरिद बिक्रीकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुकुम्वासी समस्या समाधान आयोगबाट प्राप्त जग्गा २५ वर्षसम्म बिक्री गर्न नपाइने व्यवस्था भएकामा मालपोत कार्यालयका कर्मचारीसमेतको मिलेमतोमा जग्गाधनी स्रेस्तामा २५ लाई काटेर १५ वर्ष बनाई मालपोतको स्रेस्ता सच्याउन कर्मचारीले ३५ हजार रुपैयाँ घुस लिएको अख्तियारको भनाइ छ ।

सो घटनामा जग्गा बिक्री गर्ने चन्द्रबहादुर सुनार र जग्गा खरिद गर्ने भक्तबहादुर सुनारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायण रिसालले जानकारी दिए । यसैगरी जग्गा दृष्टि बन्धक पारित गरी लिने भक्तबहादुर थापाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालयका कर्मचारी राधेश्याम झा, उदयसिंह रावल र शम्भुप्रसाद अधिकारीले ३५ हजार रुपैयाँ घुस लिएर मालपोतको स्रेस्तामा रहेको २५ वर्षसम्म बिक्री गर्न नपाइने प्रबन्धलाई सच्याई १५ वर्ष बनाएर जग्गा खरिद बिक्री गर्न सहज बनाइ दिने तीन कर्मचारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस