राष्ट्रिय सभाका उम्मेदवार छनोटको जिम्मा अध्यक्ष दाहाललाई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभाका उम्मेदवार छनोटको जिम्मा अध्यक्ष दाहाललाई


१९ पुस २०७८, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाको उम्मेदवार छनोटका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अधिकार दिएको छ ।

महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको हो । आइतबार सम्पन्न आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुबीच राष्ट्रिय सभा सदस्यको उम्मेदवारीका विषयमा छलफल भएको थियो ।

सत्तारूढ गठबन्धनको आज बसेको बैठकले उम्मेदवारको विषयमा समेत टुङ्गो लगाएका थियो । गठबन्धनको निर्णय अनुसार माओवादीले पाँच सदस्यमा उम्मेदवारी दिनेछ । मङ्गलबार उम्मेदवारको मनोनयनको कार्यक्रम छ ।

यसैबीच माओवादी केन्द्रको पदाधिकारी छनोटको प्रक्रिया केही दिनका लागि स्थगित भएको छ । केन्द्रीय समितिको बैठक यही पुस २५ गतेसम्मका लागि स्थगित भएकाले पदाधिकारी छनोटको प्रक्रिया केही दिन पर सरेको हो । सबै पक्षसँग छलफल गरेर सहमतिका आधारमा पदाधिकारी छनोट गरिने अध्यक्ष दाहालले बताएका छन् । केन्द्रीय समितिका सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले २५ गतेको बैठकपछि पदाधिकारी टुङ्गो लाग्ने जानकारी दिए ।

माओवादीमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको विधानमा व्यवस्था गरिएको छ । केन्द्रीय समिति २९९ सदस्यीय रहने व्यवस्था छ । पद तथा गोपनीयताको शपथलगायतका प्रक्रिया पूरा गरेर आजको बैठक स्थगित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस