साहित्य, कला र सङ्गीतले मुलुकलाई विश्वसँग जोड्छ : मन्त्री कार्की « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

साहित्य, कला र सङ्गीतले मुलुकलाई विश्वसँग जोड्छ : मन्त्री कार्की


१८ पुस २०७८, आइतबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य, कला र सङ्गीतले मुलुकलाई विश्वसँग जोड्ने बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा यहाँ आज आयोजित पुस्तक विमोचन समारोहमा सञ्चारमन्त्री कार्कीले कलाकृति मुलुकको सम्पत्ति भएको उल्लेख गर्दै यसको महत्त्व अझै बढाउनुपर्नेमा जोड दिए ।

सरकारका प्रवक्ता रहेका मन्त्री कार्कीले मुलुकका शान्ति, अमनचयन, सुशासन कायम भएपछि समृद्धि हुने र त्यसले कला साहित्यको विकासमा पनि योगदान गर्ने बताए ।

उनले नेपाली समाजलाई पढ्ने समाज बनाउन जरुरी रहेको औँल्याउँदै पुस्तक किन्ने संस्कृतिको विकास गर्नु पनि उत्तिकै जरुरी रहेको बताए । मन्त्री कार्कीले देशको सम्पदा मुलुक र जनताको हितमा प्रयोग गर्न सकिने गरी रुपान्तरणको आवश्यकता रहेको पनि बताए ।

समारोहमा उनले डा. रामकुमार भौकाजीद्वारा लिखित ‘समस्यामा नेपाली कला र कलाकार’, डा. यमप्रसाद शर्माद्वारा अङ्ग्रेजीमा लिखित ‘सोसिएल पोलिटिक्स् डाइनामिक्स अफ नेप्लिज पेन्टिङ्स्’ र ‘नेपाली मूर्तिकला विकासमा ठाकुरप्रसाद मैनाली’ पुस्तकको विमोचन गरेका थिए ।

समारोहमा पुस्तकबारे टिप्पणी गर्दै कला लेखक मुकेश मल्लले पुस्तकमा कलाकारका लेख बढी राख्नुभन्दा अनुसन्धानमूलक पुस्तक आजको आवश्यकता भएको औँल्याए ।

लेखक डा. यमप्रसाद शर्मा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य र सदस्य सचिव विपीनकुमार घिमिरेले भनाइ राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस