सुदूरपश्चिम । देशभरका पोल्ट्री व्यवसायीले भोग्नुपरेका चुनौतीको समाधानका लागि राज्यले उचित नीति बनाउन जरुरी भएकामा व्यवसायीले जोड दिएका छन् ।
‘एक दिन होइन, हरेक दिन अण्डा र मासु भान्साको सान, सर्वोत्तम प्रोटिन स्वास्थ्य जीवन’ भन्ने नाराका साथ शनिवार धनगढीमा मनाइएको नवौँ राष्ट्रिय पोल्ट्री दिवसमा उनीहरूले कुखुरा पालन व्यवसायले नेपाली अर्थतन्त्रमा योगदान पुर्याएको जनाउँदै व्यवसायमैत्री उचित नीति बनाएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङले व्यवसायको प्रवर्द्धन गरी आर्थिक रूपान्तरणमा लाग्न जरुरी भइसकेको जनाउँदै पौल्ट्री व्यवसायीका समस्या समाधानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त बताइन ।
नेपाल–भारतबिच रहेको खुला सीमाको फाइदा उठाउँदै अवैध ढङ्गले हुने अण्डा र कुखुराको तस्करीले पोल्ट्री व्यवसाय सङ्कटमा परेको व्यवसायीको गुनासो छ । ‘मासु र अण्डामा आत्मनिर्भर उन्मुख भए पनि दानामा आत्मनिर्भर हुन सकिरहेका छैनौँ’, कुखुरा तथा अण्डा उत्पादक सङ्घ कञ्चनपुरका अध्यक्ष विक्रम नाथले भने, ‘व्यवसायीले अपेक्षित फाइदा पाउन नसके पनि देश अण्डा र मासुमा आत्मनिर्मरउन्मुख भइरहँदा गौरवको अनुभूति भइरहेको छ ।’
पछिल्ला वर्षमा युवापुस्ताको आकर्षण बढेको यो व्यवसायको बजारीकरण गर्नमा समेत स्पष्ट नीति र कार्यक्रम बनाउनु जरुरी भइसकेको व्यवसायीको माग छ ।
पोल्ट्री क्षेत्रको समग्र विकासका लागि सरकारले पोल्ट्री नीति बनाएको भए पनि प्रभावकारी कार्यान्वयन नभइरहेको जनाइएको छ । अण्डा र मासुमा प्रोटिन पाइने भएकाले बालकदेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिले यसको उपभोग गर्न सक्ने व्यवसायीको भनाइ छ ।
पछिल्लो समय पोल्ट्रीमा नयाँ–नयाँ प्रविधि भित्रिरहेको अवस्थामा उत्पादन वृद्धिसँगै खपत पनि बढाउनुपर्ने चुनौती व्यवसायीमा देखिएको छ । कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घ कैलालीका अध्यक्ष भुवन पाण्डे ब्रोइलर कुखुराको हकमा सुदूरपश्चिम पूर्णरूपमा आत्मनिर्भर भइसकेको भए पनि अण्डाको माग भने धेरै रहेको जानकारी दिए ।
सुदूरपश्चिममा दैनिक झन्डै पाँच लाख गोटा अण्डाको माग रहेकामा दुई लाख ५० हजार जति मात्र उत्पादन भइरहेको जनाइएको छ । अण्डा र कुखुराको मासुको महत्त्व, पोल्ट्री व्यवसायका समस्या तथा निराकरण, व्यवसायको नीतिगत समस्यालगायतका विषयमा विभिन्न व्यक्तिले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए ।
एक लाख ५० हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रूपमा रोजगार पाएको यो व्यवसायले राज्यको कूल गार्हस्थ्य उत्पादनको तीन दशमलव पाँच प्रतिशत हिस्सा ओगटेको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशलाई दूध, माछा, मासु र अण्डामा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७७र७८ को तथ्याङ्कमा भने प्रदेशमा माछा मासु, दूध र अण्डाको उत्पादन घट्दा मागअनुरूप आपूर्ति हुन सकेको देखिँदैन ।
विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार यस प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष आवश्यक दूध, मासु र अण्डाको कोटा अपुग छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुदूरपश्चिम प्रदेश दूध तथा मासुमा आत्मनिर्भर हुने अवस्थामा पुगेको भए पनि अण्डाको आपूर्ति भने कम रहेको जनाएको छ ।
प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष सरदर ८० दशमलव ७९ लिटर दूध, १० दशमलव ६८ किलो मासु र ३० दशमलव ४१ गोटा अण्डा आपूर्ति भइरहेको जनाइएको छ ।
मन्त्रालयले प्रदेशलाई आत्मनिर्भर बनाउन दूधमा ३० हजार ४८६ लिटर उत्पादन वृद्धि गरी पाँच वर्षमा दुई लाख ६० हजार ४८६ लिटर , मासुमा पाँच हजार ८४१ मेट्रिक टन वृद्धि गरी ३४ हजार ९२८ मेट्रिक टन र अण्डामा १९ हजार ६२३ गोटा वृद्धि गरी पाँच वर्षमा ६१ हजार ८७० गोटा पुर्याउने लक्ष्य लिइएको छ ।
यस्तै माछाको उत्पादन दुई हजार १२८ मेट्रिक टनबाट चार हजार मेट्रिक टन पुर्याउने तथा पशुपक्षी क्षेत्रबाट पाँच वर्षका अवधिमा थप एक लाख १५ हजार प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । यसअघि स्थानीय बजारमा अण्डा तथा मासुको महत्त्व झल्किने नारा लेखिएका प्लेकार्डसहितको प्रभात फेरी गरिएको थियो ।







