काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ठगी मुद्दामा मुछिएका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
आज (बुधबार) काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक धिरजप्रताप सिंहले जानकारी दिए ।
सिभिल ग्रूपका पूर्वअध्यक्ष तामाङसहितका प्रतिवादीहरूलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको थियो ।
मुद्दाको अन्तिम टुंगो नलागेसम्म तामाङ थुनामै रहनेछन् । सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै सिआइबीले असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो । तामाङ दोस्रो संविधान सभामा एमालेको तर्फबाट सांसदसमेत भएका थिए ।