प्रतिकूल मौसमले हवाई उडान प्रभावित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिकूल मौसमले हवाई उडान प्रभावित


१३ पुस २०७८, मंगलबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको छ ।

काठमाडौँको आकाशमा बिहानैदेखि बाक्लो तुवाँलो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले दुवैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईँले जानकारी दिए ।

उनका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ । अन्तर्राष्ट्रियमा पनि बिहान कतिपय उडान प्रभावित भए पनि अहिले सामान्य अवस्था रहेको छ । बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज डाइभर्ड भएको थियो । अहिले विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर छ ।

मौसम खराबीले आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुन नसकेको जनाइएको छ । बाक्लो कुहिरो र हुस्सुका कारण आइएफआर उडान हुँदा आन्तरिक उडान डिले हुने गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए ।

उ।नले उडान डिले भए पनि गन्तव्यमा यात्रु पुर्याउन एयरलाइन्सले हर सम्भव लागिपर्ने बताए । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भेगमा बाक्लो तुवाँलो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु/कुहिरो लागेको छ । आज काठमाडौँको न्यूनतम ३ दशमलव ६ र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस