राजमार्गभन्दा भित्री सडकमा सवारी दुर्घटनाको जोखिम « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

राजमार्गभन्दा भित्री सडकमा सवारी दुर्घटनाको जोखिम


१३ पुस २०७८, मंगलबार


चितवन । जिल्लाका भित्री सडकमा सवारी दुर्घटनाको जोखिम बढी हुने गरेको छ । पछिल्ला केही वर्षको तथ्याङ्क हेर्ने हो भने मुख्य राजमार्गभन्दा भित्री सडक बढी जोखिम हुने गरेको पाइन्छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को मङ्सिरसम्म सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको छ । २५ जनाको भित्री सडकमा भएको सवारी दुर्घटनामा ज्यान गएको हो । यही अवधिमा जिल्लाभर २२४ वटा सवारी दुर्घटना भएका छन् । यीमध्ये भित्री सडकमा मात्रै १०२ वटा सवारी दुर्घटना भएका छन् ।

यही अवधिमा जिल्लाभर सवारी दुर्घटनामा ३८३ घाइते भएका छन् । उनीहरूमध्ये १६८ जना भित्री सडकमा भएको सवारी दुर्घटनामा घाइते भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको यस तथ्याङ्कले भित्री सडकमा दुर्घटनाको अवस्था जोखिमपूर्ण रहेको देखिन्छ ।

भित्री सडकबाहेक पूर्व–पश्चिम लोकमार्गमा चालु आर्थिक वर्षको पाँच महिनामा सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने ९० घाइते भएका छन् । यो अवधिमा उक्त सडकखण्डमा ४९ वटा सवारी दुर्घटना भएका थिए । यही अवधिमा नारायणगढ–मुग्लिन सडकमा ४१ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गमा १२ सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । सहरी सडकखण्डमा २० वटा सवारी दुर्घटना भएका छन् । जसमा तीन जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

आव २०७३/७४ मा भित्री सडक दुर्घटनामा ३० जनाको मृत्यु तथा २५८ घाइते, २०७४/७५ मा ४३ जनाको मृत्यु तथा २७१ जना घाइते भएका थिए । २०७५/७६ मा ४२ जनाको मृत्यु तथा २९५ जना घाइते र २०७६र७७ मा २९ जनाको मृत्यु तथा २६१ जना घाइते भएका थिए ।

भित्री सडकमा लापरबाही तरिकाले सवारीसाधन चलाउने गर्दा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताए । भित्री सडकमा ट्राफिक प्रहरीको पहुँच कम हुने र यही कारण लापरबाही तरिकाले सवारीसाधन चलाउँदा दुर्घटना निम्तिने उनको भनाइ छ ।

ट्राफिक प्रहरीको उपस्थिति कम हुने भएकाले भित्री सडकमा मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको उनले बताए । भित्री सडक साँघुरा र बिग्रिएका कारण पनि ती सडकमा दुर्घटना बढी भएको कार्यालयले जनाएको छ । सडकमा खाल्डाखुल्डी, छरपस्ट राखिने निर्माण सामग्रीले दुर्घटना बढाउने गरेको थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस