महाधिवेशनको मञ्चमा जनयुद्धकालीन नेताको खोजी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महाधिवेशनको मञ्चमा जनयुद्धकालीन नेताको खोजी


११ पुस २०७८, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थिति छ ।

शनिबार मात्रै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको माओवादीको कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरूको उपस्थिति छ । 

जनयुद्धकालीन नेताहरू सिपी गजुरेल उपस्थित हुँदा डा बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रविक्रम चन्दलगायत नेताहरू उपस्थित भएको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने नेता तथा कार्यकर्ताको मनोभावना रहेको छ ।

जनयुद्ध सुरु गर्ने समयका तत्कालीन केन्द्रीय समितिमा रहेकामध्ये १७ जना केन्द्रीय सदस्य एवं नेताहरू यति बेला माओवादीभन्दा बाहिर छन् । महाधिवेशन हलले एकीकृत माओवादीको परिकल्पना गरेको छ । 

क्रान्तिकारी  कम्युनिस्ट आन्दोलनको मूलप्रवाहका रूपमा रहेको माओवादी विभाजन, टुट फुट तथा विघटनको प्रक्रियाबाट अगाडि बढेको छ । तत्कालीन एकता केन्द्रबाट जनयुद्धको सुरुआत गर्दा माओवादीको रूपमा स्थापित भएको माओवादीका शीर्ष नेताहरू वैद्य, भट्टराई, चन्द र रामबहादुर थापा फरक राजनीतिक दलमा लागेका छन् । 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा खचाखच भरिएका नेता तथा कार्यकर्ताले भने एकीकृत पार्टी निर्माणका लागि राजनीतिक नीति तथा कार्यक्रमसहित पुनः एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले पूर्वमाओवादीहरू एकजुट हुनुपर्ने धारणा राख्दा सभा हलले ताली बजाएर स्वागत गरेको थियो । 

नेता गजुरेलले जनयुद्ध सुरु गर्नुभन्दा अगाडि बढेको केन्द्रीय समितिले गरेको प्रतिबद्धता स्मरण गरे पूर्वमाओवादीहरू एक हुने दिन आउने धारणा राखे । उनले राष्ट्रियताको जर्गेना तथा राजनीतिक नीति तथा कार्यक्रमसहित विचारमा एकठाँउमा आउने वातावरण बनाउन महाधिवेशनमा उपस्थित भएका प्रतिनिधि तथा पर्यवेक्षकलाई आग्रह गरे । 

उनले माओवादीहरू एकठाँउमा आउने दिन टाढा नभएको उल्लेख गर्दै जनजीविका र राष्ट्रियताको सवालमा एकैठाँउमा आउने वातावरण बन्ने उल्लेख गरे । धेरै पछाडि माओवादी अध्यक्ष प्रचण्ड र नेता गजुरेलले प्रज्ञा प्रतिष्ठानको हलमा हात मिलाएको दृश्य आफैँमा अर्को महत्त्वपूर्ण थियो । 

माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण गणतन्त्र, सङ्घीयता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनको एजेन्डा संस्थागत भएको भन्दै विभिन्न राजनीतिक दलका नेताहरूले सहकार्य तथा सहमतिको कार्यसूचीलाई अझै अगाडि बढाउनुपर्नेमा जोड दिए ।  

माओवादीको त्याग र बलिदानको आधारमा स्थापित भएको गणतन्त्र, सङ्घीयता तथा समावेशिताको प्रतिनिधित्व स्थापित भएको राजनीतिक परिदृश्यलाई अन्य राजनीतिक दलले स्वीकार गरेको अवस्था छ । तत्कालीन नेकपा(एमाले) सँग राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको एजेन्डा अगाडि बढाउने लक्ष्यका साथ पार्टी एकता भए पनि लामो समयसम्म टिक्न सकेन । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि माओवादी र एमाले फरक फरक दलका रुपमा पुनः स्थापित भए । 

तत्कालीन नेकपा विभक्त भएर तीन वटा पार्टीका रूपमा स्थापित भएको छ । तैपनि क्रान्तिकारी कम्युनिस्टको एकतालाई अगाडि बढाउनुपर्नेमा नेताहरूको थप जोड थियो । त्यति मात्रै होइन, माओवादी जनयुद्ध र मधेस जनविद्रोहका कारण सङ्घीयता स्थापित भएको तथ्यलाई नेताले महाधिवेशन स्थलमा स्मरण गरे ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुकमा गणतन्त्र आउने थिएन भन्ने टिप्पणी गरे । उनले गणतन्त्र आए पनि जनयुद्ध र जनविद्रोहका कतिपय एजेन्डा अझै पूरा हुन बाँकी रहेको बताउँदै बाँकी कार्यसूचीलाई पूरा गर्न लाग्नुपर्नेमा जोड दिए ।  

उनले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता महत्त्वपूर्ण उपलब्धि कतै धरापमा पर्ने हो कि भन्ने आशङ्का उत्पन्न भएको भन्दै अघिल्ला  प्रधानमन्त्रीले गरेका गल्तीलाई गनेर मात्र समस्या समाधान नहुने बताए । 

नेकपा(माले)का महासचिव सिपी मैनालीले जनयुद्धले स्थापित गरेको लक्ष्यलाई स्मरण गर्न आग्रह गरे । उनले जनयुद्धले राजनीतिक परिवर्तन गरेको भए पनि जनताको जीवनस्तरमा सुधार नआएको भन्दै जनयुद्धको लक्ष्य स्मरण गर्न आग्रह गरेका थिए । 

राप्रपाका नवनिर्वाचित महामन्त्री कुन्ती शाहीले राष्ट्रियता र जनतालाई अधिकार स्थापित गराउने सवालमा माओवादीसँग आफूहरूको एजेन्डा मिल्ने भन्दै देशहितका विषयमा एक आपसमा सहकार्य गर्न सकिने बताइन् ।

एमालेका महासचिव शङ्कर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकामा पछुतो व्यक्त गरे । उनले राजनीतिक एजेन्डा र जनतालाई अधिकार सम्पन्न बनाउने विषयमा वामपन्थी शक्तिबीच मतैक्य भए पनि समृद्धिको सवालमा समान धारणा बन्न नसकेकामा गुनासो गरे ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले परिवर्तनका एजेन्डालाई धरापमा पार्ने गरी प्रतिगमनले टाउको उठाइरहेको बेला वामपन्थी र लोकतान्त्रिक शक्तिबीचको एकता अझै अपरिहार्य रहेको बताइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस