टेलिभिजन र रेडियो नवीकरण छुट दिने लुम्बिनी सरकारको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

टेलिभिजन र रेडियो नवीकरण छुट दिने लुम्बिनी सरकारको निर्णय


८ पुस २०७८, बिहिबार


रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशबाट इजाजत प्राप्त टेलिभिजन र एफएम रेडियोका लागि आर्थिक वर्ष २०७८/७९ को इजाजत पत्र नवीकरण दस्तुर छुट दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।

त्यस्तै बैठकले नवलपरासी र कपिलवस्तु जिल्लामा यातायात व्यवस्था सेवा कार्यालय स्थापनाका लागि सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । बैठकले नवलपरासी र कपिलवस्तु जिल्लामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने र ती कार्यालयको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । सरकारको यो निर्णयसँगै श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयलाई नवलपरासी र कपिलवस्तु जिल्लामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने बाटो खुलेको छ ।

बैठकले लुम्बिनी प्रदेश सरकार वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७८ स्वीकृत गर्नुका साथै प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका, २०७८ स्वीकृत गरेको छ । बैठकले प्रदेश राजधानी निर्माणका लागि सङ्घीय सरकारसँग रकम माग गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

बैठकले दाङको भालुवाङस्थित स्वास्थ्य चौकीलाई ५० शय्यामा स्तरोन्नति गरी प्रदेशमातहत सञ्चालनमा ल्याउन सङ्घीय सरकारसँग माग गर्नुका साथै राप्ती प्राविधिक शिक्षालय दाङलाई गढवा–३ दाङस्थित सरस्वती माविको जग्गा हस्तान्तरण गर्न सङ्घीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस