पुरातात्विक सम्पदा संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री झाँक्री « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

पुरातात्विक सम्पदा संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री झाँक्री


८ पुस २०७८, बिहिबार


काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणमा सरकारसँगै समुदायको पनि दायित्व हुने बताएकी छन् ।

टेकु पचली क्षेत्रको पुनःनिर्मित ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदा उद्घाटन तथा हस्तान्तरण समारोहमा आज उनले सो कुरा बताएकी हुन् । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले उक्त क्षेत्रको पुनःनिर्माण सम्पन्न गरी सरकारी र निजी गुठी संस्थालाई हस्तान्तरण गरेकी हुन् । आयोजनाले संरचना हस्तान्तरण गरेसँगै दायित्व नसकिने उल्लेख गर्दै उनले हस्तान्तरणपछिको सञ्चालनको तरिका बनाउन सकेमात्र दिगो व्यवस्थापन हुन्छ भनिन् ।

काठमाडौँ उपत्यकाका नदी, खोलाको अतिक्रमण रोक्न सबै लाग्नुपर्नेमा जोड दिँदै मन्त्री झाँक्रीले बाग्मती सभ्यता जोगाउन नदीखोलालाई ढलमुक्त बनाउनु पनि आवश्यक रहेकामा जोड दिइन् । उनले सरकारले ऋण लिएर उपत्यकाका नदी खोला ढलमुक्त बनाउने काम गरिरहेको उल्लेख गर्दै नदीखोलामा ढल मिसाउनु हुँदैन भन्नेमा जनता सचेत हुनुपर्ने बताइन् ।

नदीखोला किनाराका वास्तविक सुकुम्बासीलाई राज्यले उचित आवासको व्यवस्था गर्ने स्पष्ट पार्दै मन्त्री झाँक्रीले सुन्दर, व्यवस्थित र सभ्य सहर निर्माणका लागि अतिक्रमण हटाउन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पुरातात्विक सम्पदाको हस्तान्तरणपछिको व्यवस्थापन तथा मर्मतमा सबैले अपनत्व ग्रहण गर्नुपर्ने बताए । समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेना, पूर्वमुख्यसचिव लिलामणि पौड्याल, गुठी संस्थानका अध्यक्ष पुण्यप्रसाद भुसाललगायतले ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षण र सभ्य सहर निर्माणका लागि सरकार र समुदायबीच सहकार्यको आवश्यक रहेकामा जोड दिए । समितिद्वारा एसियाली विकास बैंकको ऋण सहयोगमा पुनःनिर्मित लक्ष्मेश्वर सत्तललगायत सम्पदा मन्त्री झाँक्रीले सम्बन्धीत गुठीलाई हस्तान्तरण गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस