एमसिसीकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एमसिसीकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड


८ पुस २०७८, बिहिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)कै कारण गठबन्धन नटुट्ने बताएका छन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष दाहालले आफूहरुबीच उच्चस्तरीय सहमति रहेकाले एमसिसीकै कारण गठबन्धन नटुट्ने बताए ।

‘प्रधानमन्त्रीले एमसिसीमा सुधारको गुञ्जायस छ भन्नुभएको छ,’ उनले भने, ‘एमसिसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन, त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।’

एमसिसीको सन्दर्भमा छलफल गर्न बुद्धिजीवीसँग छलफल गर्नको लागि आफूले प्रधानमन्त्रीलाई प्रस्ताव राखेको अध्यक्ष दाहालले बताए ।

‘हिजो मात्रै मेरो प्रधानमन्त्रीजीसँग कुरा भयो, बुद्धिजीवी नागरिकहरूको बैठक बस्ने कि भन्ने थियो, हाम्रो राष्ट्रिय सम्मेलन आइसकेकाले त्यसपछि गर्न सहयोगी भावना देखाउनुभयो,’ उनले भने, ‘उहाँले पनि यो विषयलाई बुझ्नु भएको छ र अनावश्यक रूपले प्रेसर आउँछ भन्ने मलाई लाग्दैन ।’

अध्यक्ष दाहालले एमसिसीमा सुधार गर्नुपर्ने पक्षहरु रहेकाले त्यसलाई सच्याएर मात्र अगाडि बढाउन सकिने बताए। एमसिसीको बारेमा अध्ययन गर्नको लागि गठबन्धनले कार्यदल बनाएको र त्यसले काम गरिरहेकाले त्यसपछि यसको सन्दर्भमा साझा धारणा बनाउन सकिने स्पष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस