गलकोटमा नेतृत्व चयन गर्न माओवादी केन्द्र अनिर्णीत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गलकोटमा नेतृत्व चयन गर्न माओवादी केन्द्र अनिर्णीत


७ पुस २०७८, बुधबार


बागलुङ । नेकपा (माओवादी केन्द्र)ले यहाँको गलकोट नगरपालिकामा नेतृत्व टुङ्ग्याउन सकेको छैन । सो पार्टीले गत मङ्सिर ११ गते गलकोटसहित देशभरका स्थानीय तहमा एकसाथ अधिवेशन सुरु गरेको थियो ।

अधिवेशन चलेर बन्द सत्रमा पुगी अवरुद्ध बनेको नेतृत्व चयनको प्रक्रियामा माओवादी केन्द्र अझै अनिर्णीत बनेको हो । महिना दिन बित्दासमेत न सहमतिमा नत निर्वाचनको प्रक्रियामै उक्त पार्टी जान सकेको छ । त्यही कारण नेतृत्वप्रति गलकोटका नेता, कार्यकर्ता असन्तुष्ट छन् ।

नेतृत्वमा सहमति नभए प्रक्रियामा लैजानुपर्ने माग उठ्न थालेको छ । माओवादी केन्द्र, जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले आकाङ्क्षी बढी भएपछि अध्यक्षलगायत पदाधिकारीमा तत्काल सहमति जुट्न नसकेको बताए ।

उनका अनुसार अधिवेशनले ६५ सदस्यीय नगर समिति भने सर्वसम्मत निर्वाचित गरिसकेको छ । सोही समितिले पदाधिकारी चुन्ने विधानतः व्यवस्था छ । समितिले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी सात पदाधिकारी चुन्नेछ । ‘नेताको कार्यव्यस्तता, प्रदेश अधिवेशनको तयारीलगायत कारणले केही ढिलो हुन पुग्यो अब राष्ट्रिय सम्मेलन लगत्तै एउटा निर्णयमा पुग्छौँ’, संयोजक गैरेले भने ।

उनले सहमतिमै नेतृत्व टुङ्गो लाग्ने दाबी गरे । पार्टीको नगर अध्यक्षमा हालका अध्यक्ष ललित श्रीस, तिलक उप्रेती, गङ्गा भुजेल, चन्द्रदत्त रेग्मी, राज थापा र चन्द्रबहादुर थापा ‘शिखर’ आकाङ्क्षी छन् । सबै पार्टीको जिल्ला समन्वय समितिका सदस्यसमेत हुन् । अध्यक्षका दाबेदार उप्रेतीले सहमतिमै पदाधिकारी चुनिने विश्वास व्यक्त गरे ।

‘अन्तिमसम्म सहमतिकै प्रयास हुन्छ नत्र निर्वाचनको विकल्प त छँदै छ’, उनले भने, ‘पार्टी केन्द्रको पनि सहमतिमै जोड छ, राष्ट्रिय सम्मेलनपछि हामी बसेर टुङ्गाउँछौँ ।’ उप्रेती यसअघि पनि नगर अध्यक्ष भइसकेका नेता हुन् । जतिसक्दो चाँडो पदाधिकारी चयन गरेर पार्टीका कामलाई गति नदिने हो भने कार्यकर्ता तहमा निराशा छाउने उप्रेतीको भनाइ छ ।

नेतृत्वको दाबी गरिरहेका सबै जना पार्टीमा लामो पृष्ठभूमि भएका र योगदान गरेका व्यक्ति हुन् । जनयुद्धदेखि शान्ति कालका पछिल्ला दिनसम्म सबै पार्टीका जिम्मेवारीमा क्रियाशील छन् । पदाधिकारी सर्वसम्मत चुन्ने प्रयास असफल भएपछि महिनौँसम्म अधिवेशन स्थगित हुनुलाई कार्यकर्ताले नेतृत्वको असफलताको रुपमा लिएका छन् । स्थानीय माओवादी कार्यकर्ता राजेन्द्र श्रेष्ठले गुटगत राजनीति, व्यक्तिगत स्वार्थ र एक अर्कालाई सम्मान नगर्ने प्रवृत्तिका कारण समस्या निम्तिएको बताए ।

गलकोट जिल्लामा तुलनात्मक रुपमा कम्युनिस्ट जनमत बढी भएको क्षेत्र हो । अघिल्लो चुनावमा प्राप्त मतका आधारमा हेर्दा त्यहाँ नेपाली काँग्रेसपछि दोस्रो ठुलो दलका रुपमा माओवादी केन्द्र क्रियाशील छ । त्यसपछि अन्य वाम दल छन् ।

गत स्थानीय चुनावमा माओवादी केन्द्रले त्यहाँका दुई वडा मात्र जित्न सफल भएको थियो । सही नेतृत्वको छनोटसँगै सङ्गठनको रुपान्तरण र सुदृढीकरण नगरे गलकोटमा पार्टी कमजोर हुँदै जाने चिन्ता कार्यकर्ता तथा शुभेच्छुकमा छ । जिल्लाका अन्य नौ स्थानीय तहमा भने यसअघि नै अधिवेशनबाट नयाँ नेतृत्व आएको छ ।

टोल समितिका भेला, वडा, पालिका हुँदै प्रदेश तहका अधिवेशन सकेर माओवादी केन्द्र राष्ट्रिय सम्मेलनमा होमिएको छ । यही पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस