लुलाङ चार महिनादेखि सोलार र टुकीको भरमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुलाङ चार महिनादेखि सोलार र टुकीको भरमा


७ पुस २०७८, बुधबार


गलेश्वर । म्याग्दीको लुलाङ गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ । पहिराले बगाएको लघु जलविद्युत् परियोजनाको संरचना मर्मत नहुँदा धवलागिरि गाउँपालिका–२, लुलाङ गाउँका बासिन्दा चार महिनादेखि सोलार र टुकीका भरमा छन् ।

गत भदौ २० गते बाढीले बगाएको लघु जलविद्युत् परियोजना हालसम्म मर्मत हुन सकेको छैन । वडावासीले अन्धकारमा दैनिकी कटाउन बाध्य छन् ।

लमसुङ्गस्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजना बाढीले बगाएको थियो । बाढीले विद्युत् गृह, कुलो र पोल बगाएको थियो । संरचना पुनः निर्माण नहुँदा स्थानीयवासी सोलार र टुकीको घरमा छन् ।

बाढीले विद्युत् गृहसँगै चार पोल र मुहानको बाँध तथा कुलो बगाएको लघु जलविद्युत् परियोजनाका सचिव लालबहादुर खड्काथोकीले बताए । बाढीले विद्युत् गृहका जेनेरेटरलगायत उपकरण बगाएको छ ।

विद्युत् आपूर्ति बन्द हुँदा वडा नं २ का खोरिया, लुलाङ, लमसुङ्गलगायतका ३५४ परिवार प्रभावित भएका छन् । विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । विसं २०७३ मा पहिराले जुगेपानीस्थित २५ किलोवाट क्षमताको विद्युत् गृह बगाएपछि सोही परियोजनालाई २०७५ सालमा मरेनीको फेदीमा स्थानान्तरण गरिएको हो ।

गाउँपालिकाको रु ५० लाख र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु ८६ लाख तथा स्थानीयवासीको श्रमदानमा उक्त परियोजना निर्माण गरिएको हो । बाढीले रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

परियोजना पुनः निर्माणका लागि गाउँपालिकाले रु १० लाख र प्रदेश सरकार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले रु १० लाख विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । दुई महिनाभित्र बिजुली बाल्ने प्रयास भइरहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस