सूचना प्रवाहमा कञ्जुस्याइँ नगर्न आयोगको आग्रह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सूचना प्रवाहमा कञ्जुस्याइँ नगर्न आयोगको आग्रह


१५ मंसिर २०७८, बुधबार


सप्तरी । सूचना आयुक्त रत्नप्रसाद मैनालीले सही सत्यतथ्य सूचना प्रवाह गर्ने सन्दर्भमा कन्जुस्याइँ नगर्न सार्वजनिक निकायसँग आग्रह गरे । राजविराजमा आज आयोजित सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले सूचना माग गर्नु नागरिकको अधिकार र सूचना प्रवाह गर्नु सार्वजनिक निकायको दायित्व भएको स्पष्ट पारे ।

यसका लागि सूचना मागकर्ता र सूचना दाताबीचको सम्बन्ध सुदृढ रहनुपर्ने कुरामा उनले जोड दिए । सूचनाको हक लोकतान्त्रिक पद्धतिको महत्वपूर्ण उपलब्धि भएको र सूचना जुनसुकै विषयमा माग्न पाइने हुँदा सूचना उपलब्ध गराएर सर्वसाधारण नागरिकलाई कानूनी राज्यको अनुभूति दिन उनले आग्रह गरे ।

सूचना अधिकारी राख्ने वा सूचना उपलब्ध गराउने मूल दायित्व कार्यालय प्रमुखको रहेकाले सूचना प्रवाहका लागि कार्यालय प्रमुख नै जिम्मेवार हुने विचार व्यक्त गर्दै जनप्रतिनिधिले सूचना नदिन आदेश गरेको अवस्थामा जनप्रतिनिधि पनि स्वाभाविकरूपमा सूचनाको हकसम्बन्धी कानूनको दायरामा आउने आयुक्त मैनालीले बताए । उनले कार्यालय प्रमुख र सूचना अधिकारीसँग सूचना दिने वातावरण बनाउन अनुरोध गरे ।

आयोगका सचिव भागीरथ पाण्डेयले सूचनाको हकको संवैधानिक र कानूनी पक्ष, सूचना अधिकारीको व्यवस्था र कामकर्तव्य, उजुरी र पुनरावेदनका विषयमा राष्ट्रिय सूचना आयोग, सजाय र क्षतिपूर्ति, प्रमुख जिल्ला अधिकारीको भूमिका, सूचनाको हकको कार्यान्वयनमा राष्ट्रिय सूचना आयोगको अपेक्षा विषयमा कार्यपत्र प्रस्तुत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस