बबई नदीमा माछाका भुरा छाडियो « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

बबई नदीमा माछाका भुरा छाडियो


६ मंसिर २०७८, सोमबार



देउखुरी । नदीको पर्यावरणीय सन्तुलन कायम राख्न दाङको बबईमा माछाका भुरा छाडिएको छ । भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले विश्व मत्स्य दिवसका अवसर पारेर आज घोराही उपमहानगरपालिका–५ धर्नाको सिसहनियास्थित बबई नदीमा माछाका भुरा छोडिएको हो ।

माछापालनलाई व्यावसायिक बनाउनेतर्फ मात्रै भन्दा पनि खोला नदीको पर्यावरणीय अवस्थालाई सन्तुलनमा राख्न आवश्यक रहेको केन्द्रका प्रमुख डा वेदबहादुर केसीले बताए । रहु र नैनी जातका ६ हजार माछाका भुरा बबई नदीमा छोडिएको हो । नदीको पर्यावरणीय सन्तुलन कायम गर्न र नदीमा माछाको सङ्ख्या बढाउन भुरा छोडिएको डा केसी बताउछन् ।

नदीको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुने भएकाले माछा छोडिएको विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत महेन्द्रप्रसाद यादवले बताए । नदीमा माछाका भुरा छोड्ने र नदीको पानीलाई स्वच्छ बनाउनतिर ध्यान दिनुपर्ने बताए । जथाभावी उत्खनन, उद्योगबाट निस्कने रासायनिक पदार्थ, फोहोरमैला, विद्युतीय करेन्टलगायतबाट पनि खोलालाई जोगाउनुपर्ने उनले बताए । खोलामा विषादी हाल्ने र प्रदूषण बढ्दै जाँदा त्यसको असर नदीका माछा तथा अन्य जीवमा परेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस