कञ्चनपुरमा किसानलाई अनुदानमा गहुँको बिउ प्रदान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कञ्चनपुरमा किसानलाई अनुदानमा गहुँको बिउ प्रदान


६ मंसिर २०७८, सोमबार


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको छ। गहुँ प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत नगरपालिको कृषि शाखाले किसानलाई अनुदानमा १८ हजार ६६० किलो बीउ वितरण गरेको हो।

कृषि शाखाका प्राविधिक सहायक करन सिंह बुढाऐरका अनुसार नगरपालिकामा क्रियाशील १८ वटा कृषि सहकारी, २२ वटा कृषि समूह र ४५ वटा कृषि फार्ममार्फत ३२५ जना किसानलाई उन्नत जातको गहुँको बिउ वितरण गरिएको छ।

गहुँ प्रवर्द्धन कार्यक्रमअन्तर्गत संघीय सरकारबाट प्राप्त २० लाख रुपैयाँमध्ये सात लाख र किसानले व्यहोरेको सात लाख गरी १४ लाख रूपैयाँमा बिउ खरिद गरी वितरण गरिएको प्राविधिक सहायक बुढाऐरले जानकारी दिए।

‘किसानलाई उन्नत जातका विजय, आदित्य, एनएल ९७१ र बाणगंगा जातको गहुँको बिउ मागका आधारमा उपलव्ध गराएका छौं‚’ उनले भने‚ ‘उन्नत जातको बीउको प्रयोगले गहुँको उत्पादनमा बृद्धि हुने अपेक्षा गरेका छौं।’ किसानलाई मार्का नपर्ने गरी ढुवानी र लोड अनलोडबापतको खर्च शाखाबाटै व्यहोरिएको छ।

शाखाबाट वितरण गरिएको बिउ १८८ बिघा जग्गामा किसानले छरेका छन्। नगरपालिका क्षेत्रका गहुँ खेतीमा संलग्न किसानमध्ये ७० प्रतिशतले उन्नत जातको गहुँको बिउको प्रयोग गर्ने गरेका छन। सिँचाइको पहुँच पुग्न थालेपछि गहुँको उत्पादन प्रत्येक वर्ष बढ्दो छ। नगरपालिका क्षेत्रमा प्रति हेक्टर गहुँको उत्पादन दुई मेट्रिक टन रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस