युरोपका शहरहरूमा कोभिड नियमविरुद्ध प्रदर्शन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

युरोपका शहरहरूमा कोभिड नियमविरुद्ध प्रदर्शन


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । युरोपमा कोभिड–१९ को बढ्दो संक्रमणबीच लागू गरिएका नयाँ नियम तथा प्रतिबन्धविरुद्ध हेगमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपकै कारण हेगमा आपतकालीन आदेश जारी गरिएको छ ।

शनिबार हेगका सडकमा हुड लगाएका मानिसले साइकलमा आगो लगाएका र घोडामा चढेका प्रहरीले भीडलाई तितरबितर पार्ने प्रयास गरेका छन् । अधिकारीहरूले उक्त शहरमा आपतकालीन आदेश जारी गरेका छन् भने कम्तिमा ७ जना मानिसलाई पक्राउ गरिएको छ ।

हेगमा भएको पछिल्लो झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि पटाका फालेको र साइकलमा आगो लगाएको बीबीसीले जनाएको छ । यसअघि शनिबार रोटरडाममा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएको थियो ।

अवस्था जोखिमपूर्ण बन्दै गएपछि प्रहरीले सुरुमा चेतावनी स्वरुप हावामा गोली चलाएको र पछि ताकेरै गोली चलाएको एक प्रहरी अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई बताए । प्रहरीको गोली लागेर घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

नेदरल्याण्डमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च भएपछि गत शनिबार आंशिक लकडाउन लगाइएको थियो ।

अष्ट्रियाको भियनामा भएको प्रदर्शन

अष्ट्रिया, क्रोएसिया र इटलीमा समेत हजारौं मानिस सडकमा आएर प्रदर्शन गरेको समाचारमा बताइएको छ । कोभिडसम्बन्धी नयाँ नियम तथा प्रतिबन्धका कारण उत्पन्न आक्रोशले विरोध प्रदर्शनको रुप लिएको हो ।

अष्ट्रियाको राजधानी भियनामा देशव्यापी लकडाउन लगाउने सरकारको घोषणापछि हजारौं मानिसले विरोध प्रदर्शन गरेका छन् । त्यहाँ सोमबारदेखि २० दिनका लागि पूर्ण लकडाउन लगाइँदै छ । त्यस्तै क्रोएसियाको राजधानी जाग्रेभमा सरकारी कर्मचारीलाई खोप अनिवार्य गरिएपछि हजारौं मानिस सडकमा उत्रिएको समाचारमा उल्लेख छ ।

इटलीको प्राचीन मैदान सर्कस म्याक्सिमसमा समेत केही मानिसहरू उत्रिएर कार्यस्थल, सार्वजनिक सवारी र स्थलमा ‘ग्रिन पास’ अनिवार्य गरिएको विरोधमा प्रदर्शन गरेका छन् ।

डब्लूएचओ चिन्तित

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युरोपमा कोरोनाभाइरसका बिरामी बढ्न थालेपछि आफू ‘निकै चिन्तित भएको बताएको छ ।

डब्लूएचओका क्षेत्रीय निर्देशक डा। हान्स क्लुगेले बीबीसीसँग कुरा गर्दै कोभिडसम्बन्धी नियममा कडाइ नगरे केही महिनाभित्रै ५ लाख मानिसको मृत्यु हुने बताए । ‘हाम्रो क्षेत्रमा फेरि कोभिड(१९ मृत्युको पहिलो कारण बनेको छ’, क्लुगेले भने ।

भाइरससँग जुध्न खोप लगाउनुपर्ने, मास्क प्रयोग गर्नुपर्ने कोभिड ‘पास’ लागू गर्नुपर्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस