नेपाल-भारतबीचको सम्बन्ध मजबुत बनाउन पर्यटनसँग जोड्नुपर्छ : प्रमुख मिश्र « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल-भारतबीचको सम्बन्ध मजबुत बनाउन पर्यटनसँग जोड्नुपर्छ : प्रमुख मिश्र


४ मंसिर २०७८, शनिबार


धनुषा । प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि विकास र पर्यटनसँग जोड्न आग्रह गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा मिथिला अनुसन्धान सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामको संयोजनमा आजदेखि जनकपुरधाममा सुरु भएको रामायण सर्किट तथा मिथिला-अवध सम्बन्धबारे आयोजना गरिएको कार्यक्रममा प्रदेश प्रमुख मिश्रले जनकपुरधाम र अयोध्याबीचको प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन सडक, रेल तथा हवाईमार्गबाट जोडेर पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिन आवश्यक भएको बताए ।

प्रदेश प्रमुख मिश्रले दुवै देशका सरकारले रामायण सर्किटको विकासका लागि थप सहकार्य गरेर कामकाज गर्न आवश्यक भएको बताए । उनले विसं २०७५ वैशाख २८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्तरूपमा उद्घाटन गरेको जनकपुरधाम–अयोध्या बससेवा पुनः सञ्चालन गर्न दुवै देशबीच समन्वय भइरहेको बताए ।

नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली सुवासनी अरुण तिलकाले नेपाल, भारत र श्रीलङ्कालाई जोडेर रामायण सर्किटको विकास गर्ने धेरै आधारहरू श्रीलङ्कामा रहेको बताउँदै ती ठाउँको संरक्षण गर्ने काम श्रीलङ्का सरकारले गरेको बताए ।

अयोध्यामा राम मन्दिर निर्माणमा सक्रिय रहनुभएका राजेन्द्रसिंह पङ्कजले नेपाल–भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनमा रामायण सर्किटले योगदान गर्ने बताए । विश्व हिन्दू परिषद् भारतका केन्द्रीय उपाध्यक्ष जिवेश्वर मिश्रले धर्म संस्कृतिको रक्षाबिना कुनै पनि देशको विकास सम्भव नहुने बताउँदै रामायण सर्किटको विकासका लागि भारत सरकारले काम गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै जनकपुरधामका प्रमुख लालकिशोर साहले भगवान् रामले जनकपुरधाममा आएपछि सार्थकता पाएको र जनकपुरधामबिना रामायण अधुरो रहेकाले रामायण सर्किटलाई जनकपुरसँग जोड्न अतिआवश्यक रहेको बताए । प्रमुख साहले जनकपुरधामको इतिहास त्रेतायुगदेखि नै रहेकाले जनकपुरधाम अब धामको रूपमा स्थापित हुन लागेको उल्लेख गरे ।

त्यस्तै कार्यक्रममा भारत युपीका कमिशनर विशाल सिंहले भारतको अयोध्या र जनकपुरधामलाई जोड्न चाँडै हवाई सेवा र रेलमार्गको काम हुने बताए । कमिशनर सिंहले अयोध्याबाट जनकपुरधाम जोड्न बस सेवा सुरु हुने साथै डबल लाइन रेल्वे ट्रयाकको निर्माण भइरहेको बताए ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना एवं राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको सहआयोजनामा सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस