माओवादी केन्द्रलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको हो : दाहाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माओवादी केन्द्रलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको हो : दाहाल


४ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टीलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको टिप्पणी गरेको छ ।

रौतहटको कटहरियामा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले माओवादी केन्द्र र आफूलाई सिध्याउन चितवनमा महाधिवेशन गर्न लागे पनि जनताका तागतअघि केही नलाग्ने बताएका छन् । ‘तपाईंहरुले बुझ्नुभयो होला । उनीहरु किन चितवन गएका हुन् । प्रचण्ड र माओवादीलाई माया गर्न गएका होइनन् । सिध्याउन गएका हुन् । तर जनताका अगाडि दुनियाँको कुनै पनि तागतको केही पनि लाग्ने छैन,’ उनले भने, ‘हामी जित्ने छौं । आउने निर्वाचनमा माओवादी पार्टी ६४ सालको जस्तै १ नम्बर पार्टी बन्ने पूरै सम्भावना छ ।’

अध्यक्ष दाहालले रौतहटवासीलगायत माओवादी नेता, कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्न निर्देशन दिए । संविधानमार्फत ग्यारेन्टी गरेको संघीयता, समावेशी, समानुपातिक अधिकारलाई बचाउन माओवादीले आगामी चुनाव जित्नु पर्ने भन्दै दाहालले आक्रमक भएर अघि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् ।

नेकपा एमालेले पार्टीको १०औं महाधिवेशन मंसिर १० गते देखि १२ गतेसम्म चितवनमा गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस