एमसीसीबारे मंसिर २८ सम्म टुंगो गर्न प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्री लूको आग्रह « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

एमसीसीबारे मंसिर २८ सम्म टुंगो गर्न प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्री लूको आग्रह


३ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ ।

आज (शुक्रबार) सिंहदरवारमा भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष प्रचण्डलाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) बारे छिटो निर्णयमा पुग्न आग्रह गरेका छन् ।

विदेशमन्त्री लूले एमसीसीबारे मंसिर २८ सम्म टुंगो गर्न समयसीमा दिएका छन् । त्यतिन्जेलसम्म नेपालले टुंगो नगरे अमेरिकाले यो सहयोग अन्यत्र लैजानेबारे विकल्प अघि बढाउने उनले बताएका छन् ।

‘नेपालले एमसीसी सम्झौता अघि बढाउने कि नबढाउने भन्ने १४ डिसेम्बरसम्म भन्नु पर्‍यो । हुन्छ कि हुन्न भन्ने जवाफ चाहियो । नत्र अयन्त्र ट्रान्सफर गर्छौं भन्नु भएको छ’ दाहालसँगको भेटमा भएको कुराकानीबारे उनका स्वीकय सचिव रमेश मल्लले भने ।

भेटमा अध्यक्ष दाहालले स्पष्ट जवाफ दिएनन् । उनले विदेशीहरू सहयोग लिने विषयमा नेपाल सकारात्मक नै रहेको तर एमसीसी सम्झौता कागजातका कारण नेपालमा अहिले बहस चलिरहेको बताएका थिए । दाहालले पहिले भएको सम्झौतामा पछि संसदीय अनुमोदनको कुरा जोडिएपछि नेपालमा बहस चलेको बताएका थिए । एमसीसी अनुमोदनको विषयमा माओवादी केन्द्रले यसअघि विरोध गरेको थियो ।

सहायमन्त्री लुले शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेर एमसीसीको विषयमा प्रश्न गरेका छन् । उनले यसबारे एमालेको धारणा के हो भन्ने जिज्ञासा राखेका थिए । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार अध्यक्ष ओलीले आफूहरू विपक्षमा रहेकाले यो विषयमा सत्तारुढ दलले केही नभनेको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस