मेलम्चीको चार विधेयक संशोधनसहित पारित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेलम्चीको चार विधेयक संशोधनसहित पारित


१ मंसिर २०७८, बुधबार



सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको दशौँ नगरसभा सम्पन्न भएको छ । नगरसभाले मेलम्ची नगरपालिकाको विनियोजन ऐन २०७८ संशोधन विधेयक २०७८, सहकारी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७८, लेखा समिति कार्यसम्पादन कार्यविधि २०७८ र आर्थिक ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०७८ संशोधनसहित पारित गरेको छ ।

नगर प्रमुख डम्बर अर्यालले आर्थिक वर्ष २०७८/७९को पहिलो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा राहत पुनःस्थापना नदी नियन्त्रण र बाढीका कारण अवरुद्ध भएको सडक मर्मतसम्भार गरी पुनःसञ्चालनको लागि हालसम्म रु दुई करोड ४७ लाख ५५ हजार खर्च भएको उल्लेख गरीएको छ । हालसम्म मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रु पाँच करोड ४४ लाख ४६ हजार ६०० सहयोग प्राप्त भएको नगर प्रमुख डम्बर अर्यालले उल्लेख गरे ।

मेलम्ची–११ डुडेबेँसीमा १५ शय्याको अस्पताल निमार्णको लागि रु १५ करोड ९१ लाख ८५ हजार ७०० मा ठेक्का सम्झौता भई अस्पताल निमार्ण कार्य भइरहेको, मेलम्ची–१२ मा सहरी क्लिनिक सञ्चालनको लागि एकतले भवन निर्माणको काम सम्पन्न भएको, मेलम्ची–१२ स्थित टुनिखर्कमा फोहोरमैला व्यवस्थापन कार्य सुरु भएको प्रतिवेदनमा उल्लेख गरीएको छ । प्रतिवेदनमा चालु आर्थिक वर्षमा इन्द्रावती र मेलम्ची नदी क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा बिक्री गरी आन्तरिक राजस्व सङ्कलनको लागि रु २४ करोड ९५ लाख ५७ हजारमा तीनपिप्ले निर्माण सेवा काठमाडौँसँग ठेक्का सम्झौता गरिएको अर्यालद्वारा प्रस्तुत भएको प्रतिवेदनमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस