आज तनहुँका दुई पालिकामा हरिबोधिनी एकादशी पर्वका अवसरमा सार्वजनिक बिदा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज तनहुँका दुई पालिकामा हरिबोधिनी एकादशी पर्वका अवसरमा सार्वजनिक बिदा


२९ कार्तिक २०७८, सोमबार


तनहुँ । हरिबोधिनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले विगत दुई वर्षदेखि बिदा दिन थालेको छ ।

दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फूलको तोरण तार्ने र स्नान गर्न आउने श्रद्धालु भक्तजनको विशेष ओइरो लाग्छ । मोक्ष प्राप्तिको आस्थाले छिमेकी जिल्ला स्याङ्जा र कास्की विभिन्न स्थानबाट पनि भक्तजन यहाँ आउने गर्दछन् । यसै गरी व्यासले पनि सोही अवसरमा बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आइतबार विज्ञप्ति प्रकाशित गरी आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यही कात्तिक २३ गते बसेको कार्यपालिकाको बैठकबाट हरिबोधिनी एकादशीका दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

हरिबोधिनी एकादशीको दिन जिल्लाका विभिन्न ठाउँमा ठुलो मेला लाग्ने गर्दछ । शुक्लागण्डकीको पुल्चोकस्थित सेती नदी किनार, कोत्रे स्थित सेती नदी किनार, भिमाद नगरपालिका र म्याग्दीको सङ्गममा पर्ने दोभान, भिमादको भिमाद बजारस्थित सेती नदी, व्यास नगरपालिकाको देउराली नगर, शिशाघाट, आँबुखैरेनीको आँधीमूलमा एकादशीका दिन मेला लाग्ने गरेको छ ।

आँधीमूलमा एकादशी मेला लाग्ने

आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधी मूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले आज एकादशी मेला सञ्चालन गर्न लागिएको हो ।

कोरोना कहरका कारण गत वर्ष यहाँ मेला भर्न रोक लगाइएको थियो । एकादशी मेलाका दिन यहाँ हजारौँको सङ्ख्यामा भक्तजनको भीड लाग्ने वडाध्यक्ष किसान थापाले जानकारी दिए । पृथ्वीराज मार्गको सत्र सयबाट २० मिनेटको दूरीमा आँधी मूल पुग्न सकिन्छ ।

आँधी मूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूलस्थल रमणीय भएकाले पूजा अर्चनाका साथै वनभोजका लागि मानिस टाढा टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधी मूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।

गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलक विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

कञ्चन पानी रहेको पोखरीमा ठुलै सङ्ख्यामा खेल्ने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रूपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरुपमा संस्कार ९काजक्रिया० गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको छ ।

मन्दिरका पुजारी युवराज मास्के मगरका अनुसार दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ । गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्यमध्येमा आँधीमूललाई राख्दै यसको विकासका लागि पनि चासो दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस