शङ्खधर दिवस: मध्यपुरथिमिमा सार्वजनिक बिदा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शङ्खधर दिवस: मध्यपुरथिमिमा सार्वजनिक बिदा


२८ कार्तिक २०७८, आइतबार


भक्तपुर । शङ्खधर दिवसका अवसरमा आज मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

शङ्खधर साख्वाःको योगदानलाई जीवन्त राख्न नगरपालिकाले ४३औँ शङ्खधर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

यो दिवसका अवसरमा नगरपालिकाले विगत तीन वर्षदेखि सार्वजनिक बिदा दिँदै आएको हो । दिवसकै अवसर पारेर काठमाडौँ महानगरपालिकाको सहयोगमा निर्माण भएको शङ्खधर पार्ककोसमेत आज उद्घाटन गर्दै छ ।

काठमाडौँ महानगरपालिकाको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको रु चार करोडको लागतमा १३ रोपनी क्षेत्रफलमा परम्परागत शैलीमा ढुङ्गेधारा, एमपि थियटरसहित निर्माण भएको पार्कको उद्घाटन गर्ने तयारी गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

हरिबोधिनी एकादशी: चाँगुनारायणले दिए बिदा

त्यस्तै चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ ।

यो एकादशीको दिनमा चार नारायणमा भव्य मेला लाग्ने र त्यसमध्ये जेठो नारायणको रुपमा मानिँदै आएको चाँगुनारायण मन्दिरमा भव्य मेला लाग्ने भएकाले चाँगुनारायण नगरपालिकाले सार्वजनिक बिदा दिएको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

नगरपालिकाले यस दिनलाई स्थानीय पर्वको रुपमा घोषणा गर्दै विगत तीन वर्षदेखि सार्वजनिक बिदा दिने गरी क्यालेन्डर बनाएकाले भोलि बिदा दिने निर्णय गरिएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस