मानुङकोटमा व्यवस्थित पहिलो होटल भ्यूटावर निर्माण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मानुङकोटमा व्यवस्थित पहिलो होटल भ्यूटावर निर्माण


२५ कार्तिक २०७८, बिहिबार


तनहुँ । सामाजिक सञ्जालमा भाइरल बनेको तनहुँको व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा पहिलो व्यवस्थित र सुविधासम्पन्न होटल भ्यूटावर निर्माण गरिएको छ ।

दमौलीका बासिन्दा चुडामणि दाहाल, कुमार कञ्चन जिसी, प्रेम राउत र यज्ञ खनालको संयुक्त लगानीमा उक्त होटल निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

एक रोपनी जमिन खरिद गरी करिब रु ८५ लाखको लागतमा होटल निर्माण गरिएको होटल सञ्चालक दाहालले जानकारी दिए ।

पारिवारिक वातावरणमा बस्न चाहनेका लागि चार वटा एट्याच शौचालयसहितको कोठा तथा स्नानगृह बनाइएको र समूहमा आउने कम्तीमा पचास जनासम्मलाई राख्न सक्ने क्षमता रहेको उनले बताए । उक्त होटलमा तालिम तथा गोष्ठीमा व्यवस्थित तरिकाले राख्न र सेवा प्रवाह गर्न सकिने भएको छ ।

जेनतेन बसौँ भने अहिले पनि आएर बस्न मिल्ने अवस्था भए पनि पुरै निर्माण सम्पन्न भई नसकेको र कम्तीमा हप्ता÷दश दिनभित्रमा पूरा गर्ने योजना रहेको सञ्चालक दाहालले बताए । खानेपानीको चरम समस्या रहेको मानुङकोटमा पानीकै कारण त्यस क्षेत्रका बासिन्दा दमौली बजार आसपास क्षेत्रमा बसाइसराइ गरेका थिए ।

होटल सञ्चालनसँगै ट्याङ्करबाट पानी ल्याएर व्यवस्थित गरी ग्राहकलाई सेवा प्रवाह गरिने भएको छ । स्थानीय मगर समुदायका मौलिक खाना कोदोको ढिँडो, लोकल कुखुराको मासु, गुन्द्रुक र स्थानीयस्तरमा उत्पादित प्राङ्गारिक तरकारीलाई प्राथमिकता दिइने अर्का सञ्चालक कुमार कञ्चन जिसीले जानकारी दिए ।

केही काम निर्माणाधीन अवस्थामा रहेकाले निर्माण भएपश्चात् मगर समुदायका कला संस्कृति प्रस्तुत गरेर आगन्तुक पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने लक्ष्य रहेको अर्का सञ्चालक प्रेम राउतले बताए ।

उक्त होटलमा बसेर पर्यटकले दमौली बजारलगायत मनोरम दृश्य अवलोकन गर्न सक्नेछन् । तनहुँको सदरमुकाम दमौलीबाट करिब आठ किलोमिटर दूरीमा मानुङकोट अवस्थित छ ।

चापाघाटबाट मानुङकोटसम्मको सडक स्तरोन्नति गर्दै कालोपत्रका लागि व्यास नगरपालिकाले बजेट विनियोजन गरेकाले निर्माण कार्य भइरहेको छ । मानुङकोटमा सार्वजनिक शौचालय र खानेपानीको सुविधा पुर्‍याउन नगरपालिकाले प्राथमिकता दिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस