रसुवामा काँग्रेसको क्रियाशील सदस्यतामा विवाद « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रसुवामा काँग्रेसको क्रियाशील सदस्यतामा विवाद


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको छानबिन समितिले नै फाराम नभरेका व्यक्तिलाई पनि क्रियाशील सदस्यता सदर गरिदिएको भन्दै हिमाली जिल्ला रसुवामा विवाद उत्पन्न भएको छ ।

नेपाली काँग्रेसको क्रियाशील सदस्यता फाराम नभरेकालाई क्रियाशील सदस्यता प्रदान गरेपछि विवाद बढेको हो । काँग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा फाराम नभरेका एक सयभन्दा बढी व्यक्तिलाई छानबिन समितिले नै सिधै क्रियाशील सदस्यता दिएको यहाँका काँग्रेस कार्यकर्ताले बताएका छन् ।

वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यको नामावली काटेर फाराम नै नभरेकालाई सदस्यता प्रदान गरेपछि काँग्रेसका रसुवाका युवा छानबिन समितिप्रति आक्रोशित भएका हुन् ।

काँग्रेस नौ कुण्ड गाउँपालिका–१ रसुवाका वडा सभापति आशिष तामाङले जिल्लामा स्वच्छेचारी ढङ्गले सदस्यता वितरण गरिएको अरोप लगाउँदै क्रियाशील सदस्यताले पार्टीप्रति इमान्दार र आस्थावान् कार्यकर्ताको मनोबल गिराउने काम भएको बताए ।

पार्टीको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा एमालेको वडा कमिटीमा रहेकालाई पनि क्रियाशील सदस्यता वितरण गरिएको काँग्रेसका युवाले जनाएका छन् ।

तिहार अगाडि ७५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गिँदा रसुवा र रौतहटको क्रियाशील सदस्यता टुङ्गिन बाँकी रहेकामा यहाँको आइतबार मात्र टुङ्ग्याइएको थियो ।

क्रियाशील सदस्यता विवाद समाधान समितिले पार्टीभित्रका इमान्दार नेता तथा कार्यकर्ताको मनोबल उकास्न नसकेको भन्दै काँग्रेस रसुवाले आपत्ति जनाएको छ । वडा कार्यसमितिबाट सिफारिस गरिएका कार्यकर्ताको क्रियाशील सदस्यता कटौती गर्ने र विधान विपरीत गैर काँग्रेसलाई जबरजस्ती सदस्यता वितरण गरिएको भन्दै क्रियाशील सदस्यता छानबिन समितिको आलोचना भएको छ ।

क्रियाशील सदस्यताको छानबिन निष्पक्षरुपमा नभएसम्म १४ औँ महाधिवेशनमा भाग नलिने रसुवाका नेता कार्यकर्ता बताउँछन् । रसुवामा काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्या तीन हजार ८५७ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस