बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सिन्हालाई ११ वर्षको जेल सजाय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सिन्हालाई ११ वर्षको जेल सजाय


२४ कार्तिक २०७८, बुधबार


काठमाडौँ। बङ्गलादेशको एक अदालतले पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा लाई दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ ।

पूर्व प्रधानन्यायाधीश सिन्हालाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

सिन्हा बङ्गलादेशको अल्पसङ्ख्यक हिन्दु समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए ।

सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी छुट्टाछुट्टै अभियोगमा उनलाई ११ वर्ष जेल सजाय सुनाइएको हो । उनले यी दुई मुद्दाको अलग अलग सजाय भोग्नु पर्नेछ ।

राजधानी ढाकाको विशेष अदालतका न्यायाधीश शेख नजमुल अलामले मंगलबार सिन्ह्वालाई सम्पत्ति शुद्धीकरण अभियोगमा सात वर्ष र ठगी अभियोगमा चार वर्ष सजाय सुनाएका थिए । सिन्हा हाल क्यानडामा बस्छन् ।

७० वर्षीय सिन्हाले अन्य सात जनासँग मिलेर नक्कली कागजात प्रयोग गरेर एउटा बैङ्कबाट चार करोड टाका रकम हिनामिना गरेको अदालतको ठहर छ ।

अदालतले दोषी ठहर गरेका अन्य आठ जनालाई पनि फरक फरक सजाय तोकिएको छ । यसअघि जनबरीमा ढाकाको एक अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सिन्हा सन् २०१५ को जनबरीमा बङ्गलादेशको सर्वोच्च अदालतको २१औँ प्रधानन्यायाधीश भएका थिए ।

सन् २०१६ मा बिदा लिएर अमेरिका गएका सिन्हाले उतैबाट राजीनामा दिएका थिए । उनले सन् २०१७ को नोभेम्बरमा राजीनामा दिएका थिए । विदेशमा रहँदा उनले लेखेको पुस्तक ‘अ ब्रोकन ड्रिम’ विवादमा तानिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस