फजुल खर्च घटाउँछौँ : मुख्यमन्त्री पाण्डे « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फजुल खर्च घटाउँछौँ : मुख्यमन्त्री पाण्डे


२२ कार्तिक २०७८, सोमबार



मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फजुल खर्च घटाउनेतर्फ आफुले ध्यान दिने बताएका छन् । वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा उनले विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गर्ने क्रममा अनावश्यक प्रशासनिक खर्च घटाएर जनताको आर्थिक अवस्थामा सुधार हुने कार्यक्रम ल्याइने बताए।

बैठकमा प्रदेशसभा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले मौजुदा संविधान, सङ्घीयता र प्रजातन्त्रको संवद्र्धनका लागि गठबन्धनको सरकार अपरिहार्य रहेको स्पष्ट पारे । सरकारले विभिन्न जिल्लामा पारदर्शी र निष्पक्षका साथ विकासका पूर्वाधारका लागि योजना र बजेट बाँडफाँड गरिने बताए । मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण गरी प्रदेशमा सुशासन कायम गरिने उल्लेख गरे ।

गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संविधान, संसदीय प्रजातन्त्र र सङ्घीयतालाई जीवन्त पार्न गठबन्धन दलबीच सहमति आवश्यक भएको धारणा राखेका थिए ।

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले मौजुदा सरकारले प्रदेशको विभिन्न जिल्लाका जनतालाई प्रभाव पार्ने नीति कार्यक्रम, आर्थिक योजना र आर्थिक मितव्ययिता ल्याउने कार्यक्रम स्पष्ट नभएको आरोप लगाएका थिए । नेपाल मजदुर किसान पार्टी संसदीय दलका नेता सुरेन्द्रराज गोरसाइँले दलहरुले दलगत स्वार्थका लागि मात्र काम गरेको धारणा राखेका थिए । बैठकमा विवेकशील साझा पार्टीको संसदीय दलका नेता रमेश पौड्याल र जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता प्रेमबहादुर तामाङले समेत आफ्नो धारणा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस