पाटन दरबार सङग्रहालयमा पर्यटकको आवागमन बढ्यो « प्रशासन
Logo १३ मंसिर २०७८, सोमबार
   

पाटन दरबार सङग्रहालयमा पर्यटकको आवागमन बढ्यो


१५ कार्तिक २०७८, सोमबार


ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार सङ्ग्रहालयमा विदेशी पर्यटकको आवागमन बढेको छ । ललितपुर महानगरपालिका–१६ स्थित सो सङ्ग्रहालय कोरोना महामारीसँगै बन्द गरिएको थियो ।

कोरोनाको जोखिम कमभएसँगै गत भदौ २३ गतेदेखि सर्वसाधारणका लागि सङ्ग्रहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले जानकारी दिए । उनले भने, ‘दोस्रो बन्दाबन्दी सकिएर सङ्ग्रहालय खुलेसँगै विदेशीको चहलपहल पाटनमा दिनानुदिन बढ्दै गइरहेको छ ।’ आइतबारसम्म कूल ८०२ अन्य मुलुक व्यक्तिले सङ्ग्रहालय अवलोकन गरिसकेका उनले जानकारी दिए ।

भारत, चीन, इजरायल, अस्ट्रेलिया र स्पेनका पर्यटक दरबार क्षेत्र घुम्न आउने क्रम बढिरहेको एकद्वार पर्यटन शुल्क व्यवस्थापन तथा कार्यान्वयन समितिका प्रमुख सविना महर्जनले बताइन् । उनले भने, ‘सङ्ग्रहालय भ्रमण गर्ने स्वदेशी आगन्तुकको सङ्ख्या पनि हरेक दिन बढी नै रहेको छ ।’ खुलाइएको लगभग दुई महिनामा कूल पाँच हजार नौले सङ्ग्रहालय घुमेका उनले जानकारी गराए ।

बिहान १० देखि साँझ साढे चारसम्म सङ्ग्रहालय खुला हुने गर्छ । दरबार क्षेत्रमा मानिसको चहलपहल बढेसँगै आफूहरु पनि दिनभरि घाम तापेर परिसरमा बस्ने गरेको सुन्धाराका आशाराम महर्जनले बताए ।

तिहार नजिकिएसँगै दरबार क्षेत्रमा भीड बढेको छ । सङ्ग्रहालय रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषित गरिसकेको छ । सो क्षेत्रको कलाकारितालाई हेरेर कतिपयले सुन्दरताको सहरका नामलेसमेत सम्बोधन गर्ने गरेको पाइन्छ ।

पाटनको सबैभन्दा महत्त्वपूर्ण क्षेत्रका रूपमा दरबार क्षेत्रलाई लिइन्छ । यहाँ शिखर शैलीमा ढुङ्गाबाट निर्मित नेपालको एक मात्र २१ गजुर भएको कृष्ण मन्दिरका साथै भीमसेन अनि नरसिंह तथा जगत्नारायण आदिको मन्दिर छन् । सङ्ग्रहालय रहेको पाटन क्षेत्र धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरका रूपमा परिचित नेपाल उपत्यकाको प्राचीन र महत्त्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो मानिन्छ ।

पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि मनाइन्छन् । पाटन दरबारमा काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निर्माण भई चीनको खासा अनि ल्हासा र भुटानको थिम्पुसम्म व्यापार हुने गर्छन् ।

सङ्ग्रहालयभित्र सातौँ शताब्दीको उमा महेश्वर मूर्तिको फलकका साथै १४ शताब्दीको विष्णुकमलाज अर्थात् लक्ष्मीनारायणको मूर्तिसमेत अवलोकन गर्न पाइन्छ । यसैगरी सङ्ग्रहालयमा छैटौँदेखि २०औँ शताब्दीसम्मका प्रस्तर कलाका मूर्ति रहेका छन् । पाटन सङ्ग्रहालयभित्र सन् १६६६ को राजा श्री निवास मल्लको सिंहासन हेर्न सकिन्छ ।

दरबार सङ्ग्रहालय सेरोफेरोमा लिच्छविकालदेखिका अभिलेख अनि मूर्तिकला तथा स्थापत्य अर्थात् ढुङ्गेधारा र चैत्यका प्रमाणहरु पाइन्छन् । विसं २०१९ मा ललितपुर दरबारलाई जीवन्त राख्न तथा सर्वसाधारणका लागि खुला गर्ने उद्देश्यअनुरुप सङ्ग्रहालयमा परिणत गरिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पूर्वप्रमुख सन्दीप खनालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस