डुङ्गा दुर्घटना : बेपत्ता बालक भेट्टिएनन्, मृतकको भारतमै अन्त्येष्टि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डुङ्गा दुर्घटना : बेपत्ता बालक भेट्टिएनन्, मृतकको भारतमै अन्त्येष्टि


१२ कार्तिक २०७८, शुक्रबार


बालक बेपत्ता

बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना भएर बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ ।

गत बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् ।

सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि फेला पर्न नसकेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । यसका साथै सन्दीपको खोजीका लागि भारतीय प्रहरीसँग समेत समन्वय भइरहेको जनाइएको छ ।

डुङ्गा दुर्घटनामा परी मृत्यु भएका शिवनाथ–१ कै १३ वर्षीया मीना साउदको भने भारतमै अन्त्येष्टि गरिएको छ । बिहीबार बिहान महाकाली नदीको पारि भारतमा मीनाको शव फेला परेको थियो ।

महाकाली नदीमा पानी बहाव बढी भएकाले नेपाल ल्याउन सक्ने अवस्था नहुँदा मीनाको बिहीबार भारतमै आफन्तले अन्त्येष्टि गरेको प्रहरीले जनाएको छ ।

दश जना सवार डुङ्गा पल्टिँदा आठ जना पौडेर बाँच्न भएका थिए भने मीना र सन्दीप बेपत्ता भएका थिए । दसैँंको पूजाका लागि शिवनाथ आएका चक्रसिंह साउदको परिवार लामो समयदेखि भारतको पन्जाबमा बस्दै आएकाले बुधबार साँझ भारततिर जान लागेका बेला डुङ्गा दुर्घटनामा परेको हो ।

महाकाली नदीमा पुल नहुँदा तल्लोसोराडका स्थानीयवासी जोखिम मोलेर डुङ्गाबाट महाकाली नदी तर्दै आएका छन् । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका र भारत आवतजावत गर्दा पुल नहुँदा त्यहाँका बासिन्दा महाकाली नदीमा डुङ्गाको सहयताले वारिपारि जाने गर्दछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस