बैङ्कबाट ऋण काढेर खेती गरेका किसान मर्कामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बैङ्कबाट ऋण काढेर खेती गरेका किसान मर्कामा


१० कार्तिक २०७८, बुधबार


कञ्चनपुर । अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ । बैङ्कबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन् ।

खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका किसानलाई बैङ्कको ब्याज बुझाउन समस्या भएको छ । बैङ्कबाट कर्जा लिएर किसानले तरकारी, केरा र उखु खेती गरेका थिए ।

‘बाढी र डुबानग्रस्त क्षेत्रका साना किसानले लिएको ऋणको सावाँ ब्याज मिनाहा गरिनुपर्छ’, किसान महासङ्घका सचिवालय सदस्य खेम सुवेदीले भने, ‘सावाँ ऋण ७५ प्रतिशत मिनाहा र ब्याज पुरै मिनाहा हुनुपर्छ ।’

बाढीका कारण क्षति व्यहोरेका किसानलाई बाली लगाउन एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको माग छ । किसानको मनोबल उच्च राख्नका लागि फलफूल, उखु, तेलहन र तरकारी बालीको क्षतिपूर्ति यथाशीघ्र उपलब्ध गराउनुपर्ने सुवेदी बताउँछन् ।

हिउँदे बाली लगाउन मल, खाद, बीउ बिजन र आवश्यक सामग्रीको विशेष प्याकेज ल्याई पुरै अनुदानमा उपलब्ध गराए मात्रै किसानलाई राहत पुग्ने उनको भनाइ छ ।

बाली नोक्सानी हुँदा खाद्यान्न सङ्कट निम्तिने किसान बताउँछन् । क्षतिको विवरण सङ्कलन, राहत र क्षतिपूर्ति तथा हिउँदे बालीका लागि किसानलाई आवश्यक सामग्री निःशुल्क तथा अनुदानमा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।

धानको समर्थन मूल्य तत्काल तोक्नुपर्ने नेपाल किसान सङ्घ कञ्चनपुरका सभापति भैरवबहादुर ऐरले बताए । बाढीपीडित किसानलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडादेखि दैनिक उपभोग्य वस्तु खरिदका लागि प्याकेजका रूपमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने उनको माग छ ।

बाढीबाट दोधारा चाँदनी, भीमदत्त, शुक्लाफाँटा, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाका किसान बढी प्रभावित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस