जुवातास खेलिरहेका पाँच युवा नगदसहित दिक्तेलबाट पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जुवातास खेलिरहेका पाँच युवा नगदसहित दिक्तेलबाट पक्राउ


८ कार्तिक २०७८, सोमबार


खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले जुवातास खेलिरहेको अवस्थामा दिक्तेलबजारबाट पाँच युवालाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको हस्पिटलचोकस्थित हरि जोशीको घरमा भाडा लिएर बसेका हीराधन राईसहित पाँचजना युवालाई प्रहरीले आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३३ वर्षीय वसन्त राई, सोही स्थानका ३८ वर्षीय टीकाराम राई, साकेला गाउँपालिका–५ मात्तिमका २७ वर्षीय हीराधन राई, सोही स्थान बस्ने २२ वर्षीय सौरभ गुरुङ र उदयपुर घर भई दिक्तेल बस्दै आएका २४ वर्षीय खोमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए । तासको खालबाटै रङ्गेहात पक्राउ परेका उनीहरुका साथबाट नगद रु ७१ हजार २० र एक बुङ ताससमेत बरामद गरिएको प्रनाउ लम्सालले जानकारी दिएका छन् ।

पक्राउ परेका पाँचैजना युवाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा जुवा कसुरअन्तर्गत मुद्दा दर्ता गर्नाका साथै हिरासतमा राखेर कानूनी कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । जुवातास खेलिरहेको भन्ने प्रहरीलाई दिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले हीराधनको कोठाबाट उनीहरुलाई रङ्गेहात पक्राउ गरेको जनाइएको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय खोटाङले चाडबाड लक्षित सुरक्षा सतर्कतालाई कडाइका साथ पालना गरेको छ । चाडबाडको समयमा जिल्लामा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले रातको समयमा जिल्ला प्रवेश गर्ने विभिन्न नाका तथा भीडभाड हुने स्थानहरुमा प्रहरी गस्ती टोली परिचालन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस