बोलीचालीको भाषामा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बोलीचालीको भाषामा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीको निर्देशन


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बोलीचालीको भाषामा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

उनले जनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि ‘सम्मानार्थी’ शब्द प्रयोग निर्देशन दिएका हुन् ।

मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका माथिल्लो पदकाले तल्लो पदकालाई ‘तँ’ भनेको सुनिन्छ ।

नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले सङ्गठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिए ।

‘मन्त्रीज्यूबाट सङ्गठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ,’ उनले भने, ‘अब सङ्गठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन । ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्छ ।

मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अब सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने निर्देशन गृहमन्त्री खाँणले दिएको उनको सचिवालयले जनाएको छ ।

सङ्गठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न पहिलो सङ्गठनभित्र एकले अर्कालाई सम्मान गर्नुपर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्दको प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस