दोदाको बाढीले जग्गा कटान तीव्र पार्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दोदाको बाढीले जग्गा कटान तीव्र पार्दै


५ कार्तिक २०७८, शुक्रबार


कञ्चनपुर । बेमौसमी वर्षाका कारण दोदा नदीमा आएको बाढीले शुक्लाफाँटा नगरपालिका–१२ तिलकीमा जग्गा कटान तीव्र बनाएको छ ।

नदीको बहाव उच्च बनेपछि स्थानीय बासिन्दाको जग्गा कटानसँगै लगाएको धानबाली, उखु र केराखेतीमा क्षति पुर्‍याएको छ ।

नदीले हालसम्म स्थानीय बासिन्दाको १० कट्ठाभन्दा बढी जग्गा बगाएर बगरमा परिणत गरेको छ । स्थानीय बासिन्दा लोकेन्द्र रानाको पाँच कट्ठा जग्गामा लगाइएका केराका बोट जग्गा कटानसँगै बगेका छन् ।

‘दुई कट्ठा जग्गामा लगाएको केराका बोट पसाउनै लागेका बेला जग्गासँगै बगेका छन्’, रानाले भने, ‘रु ४० हजार खर्च गरेर केराखेती गरेको थिएँ, जग्गासँगै केराखेती नदीमा बग्यो ।’ नदी बस्तीसम्मै पुग्न थोरै मात्र बाँकी रहेको उनले बताए ।

अर्का किसान मङ्गलप्रसाद चौधरीको समेत उखु लगाएको छ कट्ठा जग्गा नदीले कटान गरी बगाएको छ । बेच्नका लागि तयारी अवस्थामा रहेको अर्लिजातको कात्तिके उखु जग्गासँगै बगेको उनले बताए । यस क्षेत्रका सात किसानको खेती गरेको जग्गा नदीले बगाएको छ । पानी पर्ने क्रम रोकिए पनि नदीको बहाव उच्च रहेकाले जग्गा कटान भइरहेको छ ।

रेडक्रसको सहयोगमा दुई वर्षअघि नदीको कटान रोक्न बनाइएको बाँसको तटबन्ध बगेपछि नदीले कटान तीव्र पारेको स्थानीय किसानको भनाइ छ । नदी नियन्त्रणको प्रयास नभए अर्को वर्षात्का बेला पुरै बस्ती विस्थापनमा पर्ने सम्भावना प्रबल रहेको स्थानीयवासी लक्ष्मण रानाले बताए । ‘नदीले जग्गा कटान गरिरहेको भए पनि कुनै निकायले चासो दिएका छैनन्’, रानाले भने, ‘हाम्रो पीडा सुन्ने कोही छैन, यस्तै रहे केही वर्षमै बस्ती नै छाडेर जानुपर्ने हुन्छ ।’

स्थानीय बासिन्दाले नदीमा भरपर्दो तटबन्ध निर्माण गर्न वर्षौँदेखि माग गर्दै आए पनि बेवास्ता हुँदै आएको छ । नदीको गुरुयोजनाअन्तर्गत तटबन्ध निर्माण हुने भनेर आश्वासन दिइने भए पनि तटबन्ध निर्माण भने नहुने गरेको स्थानीय बासिन्दाको गुनासो छ ।

यसअघि वर्षात्का बेला समेत यस क्षेत्रका बासिन्दाको दुई बिघाभन्दा बढी जग्गा नदीले कटान गरी बगाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस