बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । कात्तिक सुरु भएसँगै केही दिन देशभर परेको अविरल वर्षाले पानीजन्य रोगको उच्च जोखिम देखिएको छ । बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम उच्च देखिएको हो ।

बाढी पहिरो र डुबानका कारण कतिपय घरपरिवार विस्थापित भएका छन् । केही स्थानका प्रभावितहरू सामूहिक बसाइँ बस्न बाध्य भएका छन् । सामूहिक बसाइँमा सरसफाइमा ध्यान नदिँदा विभिन्न किसिमका सरुवा रोग फैलन सक्ने खतरा बढेको छ । पिउने पानीको मूल स्रोत दूषित हुँदा झाडापखाला, हैजालगायतका पानीजन्य रोगहरू देखिन सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरूले सुझाएका छन् ।

केही दिन अघि कपिलवस्तुको कृष्ण नगर नगरपालिकामा फैलिएको झाडापखालाको नमुना परीक्षण गर्दा हैजाको जीवाणु देखिएकाले पनि अहिले पानीजन्य सङ्क्रामक रोग फैलिने जोखिम उच्च रहेको छ । मानिसहरूको आवतजावत बढेको र पानीका मूल श्रोत दूषित हुँदा हैजालगायतका पानीजन्य रोग फैलिने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले बताए ।

डा. पुनका अनुसार अहिले बाढी पहिरो र डुबान प्रभावित क्षेत्रका मानिसहरू एकै ठाउँमा बस्दा, खानपान र शौचालयको राम्रो व्यवस्था नहुँदा पानीजन्य रोग फैलन सक्ने सम्भावना छ । कृष्ण नगर नगरपालिकामा गरिएको नमुना परीक्षणबाट चार जनामा हैजाको जीवाणु पुष्टि भएको थियो । त्योसँगै ईकोलाई जीवाणु पनि देखिएको थियो । ‘यो घटनाले पानीजन्य रोगको सङ्क्रमण फैलने सङ्केत दिई रहेको छ,’ उनले भने । प्रभावित क्षेत्रमा पानीजन्य रोगसँगै हैजाको जोखिम रहेकाले थप सावधानी अपनाउन जरुरी छ ।

तारन्तार चामल माढेर निकालेको पानी जस्तो दिसा देखिनु, बान्ता हुनु, पेट वा खुट्टाको मांसपेशीका बौडिनु, तिर्खा लाग्नु, छटपटाहट हुनु हैजाका मुख्य लक्षणहरू हुन् । यस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य चौकी जान डा. पुनको सुझाव छ । सामान्यतया हैजाको लक्षण १२ घण्टादेखि ५ दिनसम्ममा देखिन सक्छ । कडा खालको हैजा लागेका बिरामीले केही घण्टाभित्र उपचार नपाए मृत्यु समेत हुने गर्दछ ।

सङ्क्रमितको दिसामा १० दिनसम्म हैजाका कीटाणुहरू निस्किरहेको हुन्छ जसले गर्दा सङ्क्रमित जहाँ जान्छ त्यहाँ हैजा फैलने जोखिम भइरहने डा. पुनले बताए । कोरोनाको दोस्रो लहर शिथिल हुँदै जाँदा मानिसहरू घर बाहिर निस्कने वा रमाउने क्रम बढ्दो छ । अर्कोतर्फ दसैँ मनाउनका लागि मानिसहरूको आवतजावत पनि बढेको छ । एक सहर÷गाउँमा देखिएको सङ्क्रमण अर्को सहर÷गाउँमा सहजै पुग्न सक्ने सम्भावना पनि छ ।

हैजा तीव्र गतिमा फैलने प्राणघातक सरुवा रोग भएता पनि सामान्य सावधानीहरू मात्र अपनाउन सके यसबाट बच्न सकिने उनले बताए । शौचालय गएपछि साबुन पानीले हात राम्ररी धुने, सफा र सुरक्षित खाना र पानीको उपभोग गर्ने जस्ता सरल उपायहरू अपनाउन सके हैजाबाट बच्च पर्याप्त हुने डा. पुनको भनाइ छ ।

सुरक्षित र स्वच्छ पानीको प्रयोग नहुने क्षेत्र नै हैजाको बढी जोखिममा रहेको उनले बताए । बाक्लो बस्ती र पिउने पानीको राम्रो व्यवस्थापन नभएका स्थानमा हैजालगायत पानीजन्य रोगको सङ्क्रमण फैलन सक्ने खतरा बढी हुन्छ । यस्तो जोखिममा काठमाडौँ उपत्यका पनि रहेको उनले बताए । पानीको श्रोतबारे जानकारी लिएर स्वच्छ पानी पिउन उनको सुझाव छ । पानी उमालेर वा निर्मलीकरण गरेर पिउनु पर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस