दसैँ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दसैँ


१ कार्तिक २०७८, सोमबार


२०६० सालको असोज महिना । भदौ महिनाको अन्त्य सङ्गै त्यो सालको मनसुन पनि नेपालबाट बिदा भैसकेको थियो । तराईमा पनि बिस्तारै बिहान र साँझपख शीतलताको अनुभव हुन थालिसकेको थियो । मौसम समेत चाडपर्वमय भैसकेको थियो ।

कमरेड प्रभात वास्तविक नाम लेखनाथ पराजुली स्याङ्जा जिल्ला शिर्शिकोट गाविस धनमुडा स्थायी ठेगाना । क्रान्तिकारी परिवर्तनको लागि माओवादी जनयुद्धमा समाहित भएको पनि करिब ६ वर्ष भैसकेको थियो । स्याङ्जाको शिर्शिकोटको एक डाँडोमा सामान्य बस्ने घर ।स्नातक सम्म बुटवल पढ्दै गर्दा सङ्गै पढ्ने उपाध्य बाहुनकी छोरी बिहे गरेका । तराईमा हुर्किएकी छोरी पहाडको गरिब परिवारमा त्यसमा पनि जैसी केटा सङ्ग भागेको हुँदा निर्मलाको माइती सङ्ग आवतजावत नभएको पनि ५ वर्ष भैसकेको थियो ।

निर्मलाका बाबु बुटवलको राम्रै नाम चलेका नेपाली काङ्ग्रेसका नेता थिए । विवाह भएको एक वर्ष पछि नै लेखनाथ माओवादको क्रान्तिकारी पथमा होमिए । २०५५ सालमा उनले घर छोड्दा निर्मला गर्भवती थिइन । पहाडमा माओवादीको चहलपहल राम्रै थियो । प्रहरी चौकीहरू नजिक थिएनन् त्यसैले पार्टीका क्रियाकलाप गर्न पनि खासै गाह्रो हुँदैनथ्यो । केही महिनामै निर्मलाले छोरी जन्माइन ।

लेखनाथले छोरीको न्वारान सम्म घरमा बस्ने मौका पाए । २०५६ सालमै लेखनाथको तराईमा सरुवा भयो । अलि पढेलेखेको , युद्ध प्रति बढी झुकाव भएको र पार्टीको इमानदार कमरेड भएको कारण उनलाई नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लाका गतिविधिमा संलग्न हुने गरी स्याङ्जा बाट कपिलवस्तुतिर पठाइयो । तराईका यी ३ वटा जिल्लामा सङ्गठन बिस्तार गर्नु नै उनीहरूको प्रमुख कार्य हुन्थ्यो ।

२०५९ सालमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री मन्त्री भए । सरकार र माओवादी दुवै तर्फबाट युद्ध बिरामको घोषणा भयो ।वार्ता गर्न दुवै पक्षबाट प्रतिनिधि समेत तोकिए । त्यसबेला कमरेड प्रभात धेरैमा घर जाने मौका पाए । घरका बुढा बाबुआमा श्रीमती र साढे तीन वर्षकी छोरी । आफू ३३ वर्षको भए पनि बुवाको उमेर भने ८० पुगिसकेको थियो । ६ दिदिहरु मुनिको एक्लो भाइ । बुढेसकालमा जन्मिएकोले पनि कमरेड प्रभात सबैका प्रिय पात्र थिए ।

घरको एक्लो छोरो भएकोले पनि माओवादीमा नलाग्न बुवा आमा र श्रीमतीको धेरै जोड बलले पनि काम गर्न सकेन । उनी भन्थे यसरी हामी लगाग्ने हो भने हाम्रो देश र हाम्रा सन्ततिले कहिल्यै विकास र उन्नतिको मुख देख्न पाउदैनन । हरेक तिहारमा दिदिहरुको पनि भाइ प्रति यही गुनासो भइरहन्थ्यो ।प्रभात यही क्रान्तिकारी शब्द भनेर उम्किन्थे।।

यो पटक २ महिना जति उनी घरमा बस्न पाए । उता सरकार र माओवादी बिचको वार्ता सफल भएन । वार्ता संविधान सभामा गएर टुङ्गियो भन्ने समाचार आयो । प्रभात फेरि तराई तिर लागे । २०५८ मा राजा बिरेन्द्रको बंशनाश पछि माओवादी युद्धले अलि विस्तारित रूप हासिल गरेको थियो । धेरै ठाउँका प्रहरी चौकीहरूमा आक्रमण भएका थिए । दुबै पक्ष बाट यति जना हताहत भनेर समाचार आइरहन्थ्यो । दुवै पक्षले आफ्नो पक्षको हताहतको सङ्ख्या घटाउने प्रयास गर्थे ।

२०६० साल वैशाखमा कमरेड प्रभात नवलपरासी दाउन्ने पश्चिमको इन्चार्ज भए । त्यो समयमा चन्दा आतङ्क बढी थियो । माओवादीले विभिन्न ठाउँमा व्यक्ति , उद्योगधन्दा सञ्चालक तथा व्यापारी बाट चन्दा उठाउने र त्यसको निश्चित प्रतिशत पार्टीलाई बुझाउनु पर्ने नियम थियो ।

२०६० सालको असोज महिना कपिलवस्तु सदरमुकाममा रहेको वाणिज्य बैङ्क लुट्ने योजना थियो । पहिला पनि काम गरेको हुँदा कमरेड प्रभातको नेतृत्वमा वाणिज्य बैङ्क लुट्ने योजना भयो । बैङ्क लुटेर भित्री बाटो हुँदै नवलपरासी आएर पैसा राख्ने रूपरेखा अनुरूप योजना तयार भयो । बैङ्क लुट्ने टोली जम्मा २० जनाको थियो । सबै योजना अति गोप्य रूपमा तयार भयो।। भोलिपल्ट बाट सबैतिरका बैकहरू दशैको बिदामा बन्द हुन लागेका थिए । त्यसैको बिदा हुनु एक दिन अघि नै पूर्व योजना अनुसार काम सफल पार्न होमिएका कमरेडहरूले आफ्नो काम सफल पारे । कपिलवस्तुको वाणिज्य बैङ्क लुटियो। त्यो पैसा रातारात नवलपरासी सम्म ल्याउने काम भयो ।

त्यो पैसाको व्यवस्थापन गरी प्रभात यो पटक दसैँ मनाउन घर जाने तयारीमा थिए ।२ वर्ष देखि उनी घरमा गएका थिएनन् । एक हप्ता अघि निर्मलालाई कर्लेस फोन बाट आफू यो पटक दसैँमा घरमा आउने जानकारी गराएका थिए । निर्मला धेरै खुसी भएकी थिएन । छोरी पनि ५ वर्षकी भैसकेकिले बाबा भनेपछि हिरिक्कै गर्थिन ।त्यो रात जुन घरमा बैक लुटिएको पैसा राखिएको थियो त्यही घरमा खाना खाने र सुत्ने योजना बन्यो ।

भोलिपल्ट बिहान सप्तमीको दिन थियो । एक व्यापारी सङ्ग चन्दा उठाउने कार्यक्रममा प्रभात सहितका ६ जना कमरेडहरू बैकको पैसा राखिएको घर बाट दक्षिणतिर लागे भने केही कमरेडहरूलाई त्यही घरमा बस्न भनियो । २ बटा पुरानो हिरो होण्डाको स्पेलेण्डर बाइक एउटा बाइकमा ३ जना । अलि पर पुगेपछि जङ्गलको भित्र बाटो सुरु हुन्छ । भित्री बाटोको करिब १ किमी नजाँदै सशस्त्र प्रहरीको टोलीसित जम्काभेट भेट हुन्छ ।कसैको गोप्य सुराकीको आधारमा पूर्व योजना बमोजिम सशस्त्रको टोली बाटो कुरेर बसेका रहेछन् । करिब ४०र५० को सङ्ख्यामा रहेका सशस्त्रको टोलिका अगाडि उनीहरू निरीह भए । तर पनि एउटा बाइका ३ नै जना कमरेडहरू भने भाग्न सफल भए तर प्रभात सहितका ३ जनाको टोली भने फुत्किन सकेन । प्रभात सहित ३ नै जना कमरेडले आत्मसमर्पण गरे ।

बाइक र गोजीमा भएका सबै थोक निकालियो । त्यो भन्दा अलि परको अर्को जङ्गलमा लगियो । सबैको आँखामा कालो पट्टी बाँधियो । तिन वटा सालको सानो रुखमा तिनै जनालाई बाँधियो । लाग्थ्यो अब त्यहाँ केही बाकी छैन । सयौँ बाघका अगाडि तयारी अवस्थाका सिकार मात्रै बाकी थिए । काला गम्बुटहरु शरीरमा बर्सिन थाले । सबैका हातमा बन्दुक छन् तर त्यहाँ कुनै गोली खर्च गरिएन । कोही बैङ्क लुटेको पैसा कहाँ छ भन्दै कुट्दै थिए भने कोही अरू साथीहरू कहाँ छन् भन्दै हिर्काउँदै थिए ।

सच्चा क्रान्तिकारीहरू बरु ज्यानको आहुति दिन तयार हुन्छन् तर गद्दारी भने गर्दैन भन्ने उदाहरण यी तिनै कमरेडहरूले देखाए। सबैका अनुहार र मुख बाट रगतको भेल बग्न थाल्यो तर पनि गम्बुटका आवाजहरू सेलाएनन् । आत्मसमर्पणको बाबजुद पनि तीन कमरेडको पिटेरै हत्या गरियो । तिन जनाको हत्या पछि सबैको छातीमा गोली हानियो ।

भोलिपल्ट सबै पत्रिका र समाचारमा तीन माओवादीको प्रहरी सङ्गको दोहोरो भिडन्तमा मृत्यु भन्ने खबर फैलियो । परासी जिल्ला अस्पतालमा पोस्टमार्टम गरियो । लासहरू घरमा पठाइएन ।केही आफन्त र प्रहरीकै सहयोगमा तीन वटै लासहरूलाई परासी नजिकको नदी किनारमा दाहसंस्कार गरियो ।

अष्टमीको रात श्रीमानको काखमा रमाउने निर्मलाका सपनाहरू चकनाचुर भए । दसैँ अब दसैँ रहेन । बेहोस निर्मलाका शरीर,८० वर्ष काटेका बाबु , ६० काटेकी आमा र ५ वर्षकी सानी चल्लीलाई छाडेर एक ३५ वर्षीय क्रान्तिकारी कमरेड सहिद बने । निर्मलाले एउटा असल र माया गर्ने पति गुमाइन राष्ट्रले एउटा क्रान्तिकारी युवा गुमायो । बैङ्क लुटेका पैसाले क्रान्तिमै नलागेका कयौँ नाम मात्रैका क्रान्तिकारी भनिएकाहरूको महल ठडियो । आजभोलि तिनिहरुनै असली क्रान्तिकारी भन्दै गाडी कुदाएर हिड्छ्न धूमधामले दसैँ मनाउछ्न, मासु र मदिराले लिप्त हुन्छन् तर असली योद्धाहरूको घरमा कहिले दसैँ आएन । निर्मला हरेक दसैँमा पतिको पुरानो फोटो छातीमा टाँसेर भक्कानिने गर्छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस