कोभिडको नयाँ भेरिअन्ट आउने जोखिम कायमै छ, दसैँ मनाउँदा स्वास्थ्य मापदण्ड पालना गरौँ : स्वास्थ्य मन्त्रालय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोभिडको नयाँ भेरिअन्ट आउने जोखिम कायमै छ, दसैँ मनाउँदा स्वास्थ्य मापदण्ड पालना गरौँ : स्वास्थ्य मन्त्रालय


२८ आश्विन २०७८, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असारमा गरेको प्रक्षेपण अनुसार मङ्सिरसम्ममा १ लाख जना कोभिड-१९ बाट सङ्क्रमण हुन सक्ने उल्लेख गरेको थियो । सङ्क्रमणको पिक असोजको दोस्रो साता हुन सक्ने मन्त्रालयको प्रक्षेपणमा उल्लेख थियो । तर, अहिले त्यो अनुसारको सङ्क्रमण बढेको छैन । पछिल्लो समय कोभिडको सङ्क्रमण घटेको छ । तर, जोखिम कायमै छ । मन्त्रालयले जोखिम कायम रहेकाले चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पालना गर्न विशेष अनुरोध गरेको छ ।

स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरौँ
मन्त्रालयका अनुसार सामान्यतया सङ्क्रमणको एउटा लहरपछि अर्को लहर ५/६ महिनामा आउन सक्छ । एउटा लहरमा सङ्क्रमित भएका व्यक्तिमा प्राकृतिक रूपमा त्यसले ५÷६ काम गर्छ । दोस्रो लहरमा सबैभन्दा बढी सङ्क्रमित वैशाखमा भएका थिए । सोही आधारमा मन्त्रालयले प्रक्षेपण गरेको थियो । तर, अहिले सङ्क्रमण घटेपछि मानिसहरूले स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार कोभिड १९ को सङ्क्रमण घटे पनि जोखिम समाप्त भइसकेको छैन । अहिले दैनिक ८ सय भन्दा कमको सङ्ख्यामा नयाँ सङ्क्रमित थपिने गरेका छन् भने दर्जन हाराहारीमा मानिसको मृत्यु भएको छ ।

चाडबाडको समयमा किनमेल गर्नेको भिड र दसैँ मनाउन घर जानेहरूको लर्कोले कोभिडको तेस्रो लहर फैलन सक्ने जोखिम बढेको छ । मन्त्रालयका प्रवक्ता पौडेलले सङ्क्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् ।

‘सङ्क्रमण घटे पनि जोखिम घटेको छैन, जति बेला पनि सङ्क्रमण हुन सक्छ’, उनले भने, ‘नयाँ भेरिअन्ट आउने जोखिम कायमै छ, दसैँ मनाउन सहरबाट मानिसहरू गाउँ गएका छन् । भारतबाट पनि नेपालीहरू आएका छन् । कुनै एक जनामा नयाँ भेरिअन्ट रहेछ भने सङ्क्रमण फेरि बढ्न सक्छ ।’ स्वास्थ्य मापदण्ड पालनमा हेलचेक्र्याइँ गर्नु नहुने भन्दै उनले चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे ।

सङ्क्रमण घट्नुको कारण
स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड १९ विरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको छ । मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार लक्षित जनसङ्ख्याको ४२ प्रतिशतले कोभिड विरुद्धको एक मात्रा खोप लगाएका छन् । जनसङ्ख्याको ३२ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । कतिपय जिल्लामा लक्षित समूहका सबैले खोप लगाएका छन् भने काठमाडौँ उपत्यकामा ८५ प्रतिशत बढीले खोप लगाएका छन् । खोप लगाउनेको सङ्ख्या बढेसँगै कोभिड १९ को सङ्क्रमण घटेको हो ।

झन्डै ६९ प्रतिशत नागरिकमा कोभिडको सङ्क्रमण भएको अनुसन्धानले देखाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ले धेरै नागरिकमा कोभिड एटिन्बडी बनेको पाइएको प्रवक्ता पौडेलले बताए । ‘तत्काल नेपालमा नयाँ कोभिडको नयाँ भेरिअन्ट फेला परेको छैन’, उनले भने, ‘नयाँ भेरिअन्ट नभेटिएकाले पनि सङ्क्रमण घटेको पाइएको छ ।’

बिदामा पनि परीक्षण
दसैँ, तिहार र छठ पर्वसम्म सतर्कता अपनाउनु पर्ने स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । सांस्कृतिक र सामाजिक गतिविधि, पर्वमा हुने आवतजावतले जोखिम बढाउन सक्ने भन्दै मन्त्रालयले सतर्कताका साथ पर्व मनाउन भनेको हो ।

चाडपर्वको समयमा पालिकाहरूमा बिदाको दिन पनि कोभिड परीक्षणको व्यवस्था मिलाउन अनुरोध गरेको प्रवक्ता पौडेलले जानकारी दिए । भारतसँगको सीमा नाकामा कोभिड परीक्षणको व्यवस्था मिलाएको मन्त्रालयले बाहिरबाट आउनेहरूको बुथ बनाएर एन्टिजेन परीक्षण गर्न भनेको छ ।

मन्त्रालयले कोभिड परीक्षणमा पोजेटिभ देखिएमा अनिवार्य रूपमा होम आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस