धुर्मुस-सुन्तलीले बनाउन सकेनन्, रङ्गशाला सरकारले बनाउनु पर्‍यो : मेयर दाहाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

धुर्मुस-सुन्तलीले बनाउन सकेनन्, रङ्गशाला सरकारले बनाउनु पर्‍यो : मेयर दाहाल


२३ आश्विन २०७८, शनिबार


चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला अलपत्र परेको बताएकी छन्।

चितवन उद्योग सङ्घको साधारण सभामा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उनले रङ्गशाला निर्माणको काम अब सरकारले अघि बढाउनुपर्ने बताइन्।

‘देशकै गरिमा बोकेको रङ्गशाला निर्माणका लागि महानगरले जग्गा उपलब्ध गरायो, आवश्यक सबै सहयोग गर्‍यो। तर स्रोत जुटाउने जिम्मा लिएका धुर्मुस- सुन्तलीले बनाउन सकेनन्,’ मेयर दाहालले भनिन्, ‘अब रङ्गशाला निर्माणको जिम्मा सरकारले लिनुपर्ने भयो।’

सरकारमा रहेको गठबन्धनका नेता प्रचण्डसँग उनले बहु वर्षीय योजनाअन्तर्गत रङ्गशाला निर्माणको काम अघि बढाउनु पर्ने बताइन्।

क्रिकेट रङ्गशाला निर्माणका क्रममा १६ करोड रुपैयाँ ऋण लागेपछि निर्माणको जिम्मा लिएको धुर्मुस-सुन्तली फाउन्डेसन अन्योलमा छ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ उधारो तिर्न नसकेपछि रङ्गशाला निर्माणको काम रोकेर काठमाडौँ पुगेका छन्।

गत साउन १५ देखि रङ्गशाला निर्माणको काम बन्द छ।

Tags :
प्रतिक्रिया दिनुहोस