मनोमानी रोक्न भाडादर कायम गरिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मनोमानी रोक्न भाडादर कायम गरिने


१९ आश्विन २०७८, मंगलबार


बलेवा । सार्वजनिक यातायात र ट्याक्सीले मनोमानी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले भाडादर कायम गरेर लागू गर्ने निर्णय गरेको छ । प्रशासनमा यातायात व्यवस्था कार्यालय, उपभोक्ता मञ्च, प्रहरी, ट्राफिक र व्यवसायीको बैठकले न्यूनतम भाडादर कायम गर्ने र सार्वजनिक सवारी सेवालाई चुस्त तथा विवादरहित बनाउने निर्णय भएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले बागलुङ बजारदेखि मालढुङ्गा, कुश्मा, बेनी, कुँडुले, पञ्चकोटसहित गलकोट र बुर्तिबाङ तथा पोखरासम्मका ट्याक्सीको भाडादर बढेको दरमा लिन पाउने न्यूनतम रुपैयाँ काम गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाले बताए । उक्त दरलाई अक्षरशः अद्यावधिक गरेपछि पुनः बैठक बसेर पारित गरी अस्थायी रुपमा लागू गरिने उनले जानकारी दिए ।

स्थायी रुपमा भाडादर कायम गर्न भने जिल्ला तहमा अधिकार छैन । सरकारले लागू गर्ने भाडादरलाई जिल्ला तहमा समायोजन गर्ने व्यवस्था छ । बागलुङदेखि गलकोटतर्फ जाने जिप र बस तथा बुर्तिबाङदेखि निसीतर्फ जाने सार्वजनिक यातायातले बढी भाडा असुल गरेकोसमेत गुनासो आएकाले नियमनका लागि व्यवसायी बोलाएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । ‘यात्री ठगिने, गुनासो आइरहने अवस्था हुन नदिन बैठक बस्यौँ’, कार्कीले भने, ‘अब गुनासो नआउने गरी काम गर्नुपर्छ ।’

लाइसेन्स नभएका र रुट परमिट नभएका गाडीले पश्चिम बागलुङमा यात्री ओसार्ने गरेको तथा उनीहरुले चर्को भाडा लिएको ढोरपाटन यातायात सेवा प्रालिका सचिव नरबहादुर क्षेत्रीले बताए । तर प्रहरीले भने परमिट नभएका मात्र नभई भएकाहरुले पनि बढी भाडा लिएको भेटिएकाले नियमनका लागि बोलाउनु परेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।

आइतबारदेखि ट्राफिक प्रहरीले पनि अनुगमनलाई बढाउन थालेको जिल्ला ट्राफिक प्रहरी प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले बतााए । ‘यो समस्या बढी पश्चिम क्षेत्रमा देखिएकाले नियमन र अनुगमन बढाउने तयारीमा छौँ’, उनले भने।

सबै गाडीको पछिपछि प्रहरी दौडेर नहोला तर नमूनाका रुपमा केही कारबाही गर्ने र नियमित अनुगमन पनि गर्ने उनले बताए । बैठकले प्रस्तावित भाडादर यातायात व्यवस्था समितिको बैठकमा राखेर निर्णय गराउने तथा दसैँ, तिहारसहितका चाडपर्वमा भीडभाड हुन नदिने र दुर्घटना न्यूनीकरण गर्न नियमित अनुगमन गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस