माओवादी नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

माओवादी नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थ एवं ऊर्जामन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।

पुन थाइल्यान्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्यधिक जन्डिसको मात्रा अहिले केही घटेको छ ।

सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्त्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अनियन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक गएर उपचार गर्न सुझाव दिएका थिए ।

‘अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको छ’, उपचारमा संलग्न डा. नाथाभुत सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै पुनकी पत्नी एवं पूर्व सभामुख ओनसरी घर्तीले भनिन् ।

घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् । उक्त औषधिले राम्रो काम गर्न थालेको उनले उल्लेख गरिन् । ‘नयाँ औषधिले राम्रो काम गर्न थालेको छ’, घर्तीले भनिन्, ‘नेपालबाट आउँदाको भन्दा अहिले राम्रो भएको छ ।’

जन्डिसको मात्रा अत्यधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो । तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको पुनको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस