डोटी । डोटी जिल्लामा दुई महिनापछि प्रमुख जिल्ला अधिकारी आउने भएका छन् ।
गृह मन्त्रालयले शुक्रवार शंकरबहादुर विष्टलाई डोटीको प्रजिअको जिम्मेवारी दिएको हो ।
राजपत्राङ्कित द्वितीय श्रेणीका विष्ट हाल बाँके जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत छन् ।
दार्चुला र अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका विष्ट यसअघि डोटीमा सहायक प्रमुख जिल्ला अधिकारी रहीसकेका छन् ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी सुनिल खनाल साउन १० गते सरुवा भएर गृह मन्त्रालय गएपछि डोटी प्रमुख जिल्ला अधिकारीविहीन भएको थियो ।
राजपत्राङ्कित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको दरबन्दी रहेको डोटीमा खनालको सरुवा भएपछि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले निमित्त भएर काम गर्दै आइरहेकी थिइन् ।