अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जसपाले दुई दिन विरोध प्रदर्शन गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जसपाले दुई दिन विरोध प्रदर्शन गर्ने


१५ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । प्रदेश–२ सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी(जसपा) मधेस प्रदेश समितिले विरोध प्रदर्शन गर्ने भएको छ।

आयोगले जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा काम गरेको भन्दै जसपाले प्रदर्शन गर्ने भएको हो। बुधवार आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारी कागजात जफत गरेको थियो।

प्रदेश सरकार प्रमुखको शक्ति तथा गरिमामा आघात पुर्‍याउने कार्य गरेको भन्दै जसपाले यसलाई आपत्तिजनक र दुराशापूर्ण रहेको भन्दै विरोधको कार्यक्रम घोषणा गरेको हो।

विरोध अन्तर्गत असोज १६ गते प्रदेशका आठ वटै जिल्लाका सदरमुकामहरूमा मसाल जुलुस र १७ गते जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने जसपा मधेस प्रदेश समितिले शुक्रवार विज्ञप्ति जारी गरी भनेको छ।

‘अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवम् राजनीतिक प्रतिशोध र पूर्वाग्रही भावनाले गरिएको उक्त कार्य गलत हो। यस्ता कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारमा नैराश्यता र हीनताबोध हुने, राष्ट्र निर्माणका लागि गरिने लोक कल्याणकारी कार्यहरूमा प्रतिकूल असर पर्ने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अख्तियारको यस्तो कार्य र कार्यशैलीप्रति जनता समाजवादी पार्टी, नेपाल प्रदेश समिति घोर विरोध, भर्त्सना र आपत्ति प्रकट गर्दछ।’

Tags :
प्रतिक्रिया दिनुहोस