जिपले ठक्कर दिँदा दुई छात्राको मृत्यु, तीन सख्त घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जिपले ठक्कर दिँदा दुई छात्राको मृत्यु, तीन सख्त घाइते


१५ आश्विन २०७८, शुक्रबार


सल्यान । आज बिहान जिपले ठक्कर दिँदा दुई छात्राको मृत्यु भएको र अन्य तीन सख्त घाइते भएका छन् । जिल्लाको थारमारेबाट श्रीनगरतर्फ आइरहेको लु२च ५७०१ नंको डबल क्याप जिपले शारदा नगरपालिका–६ बाङ्गे सल्लाको नजिकै सडक छेउमा बसिरहेका पाँच छात्रालाई ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाइते भएकी शारदा नगरपालिका–६ बरला निवासी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी १८ वर्षीया सुनिता नेपालीलाई उपचारका लागि नेपालगञ्ज लाँदै गर्दा दाङ जिल्लाको राम्रीमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते रेखा र सुनितालाई छाती तथा मुखमा गहिरो चोट लागेको र उनीहरुको अवस्था जटिल भएकाले प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकामा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते शारदा नगरपालिका–६ बरालाका १८ वर्षीया मीना परियार, १६ वर्षीया सुशिला नेपाली र १८ वर्षीया दीपा बुढाथोकीलाई पनि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । शिवजन माविमा कक्षा १२ मा अध्ययनरत छात्राहरु सडकको छेउमा बसिरहेको बेला तीव्र गतिमा रहेको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिए ।

जिपमा सवार चारजना भने सकुशल थिए । जिप सडकभन्दा १० मिटर तल खसेको थियो । दुर्घटनापछि फरार जिप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वलीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस