अस्ट्रेलियाले आगामी नोभेम्बरदेखि अन्तर्राष्ट्रिय सीमा खोल्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अस्ट्रेलियाले आगामी नोभेम्बरदेखि अन्तर्राष्ट्रिय सीमा खोल्ने


१५ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । अस्ट्रेलियाले आगामी नोभेम्बरदेखि आफ्नो अन्तर्राष्ट्रिय सीमा खोल्ने भएको छ।

सुरुमा उसले खोप लगाएका नागरिक र उनीहरुको आफन्तलाई भ्रमणको अनुमति दिने बताएको छ ।

२०२० को मार्चदेखि केही अस्ट्रेलियन नागरिकले मात्र मुलुक प्रवेशको अनुमति पाएका छन् । त्यस्तै कुनै विशेष कारण विना मुलुक बाहिर जान पाउने नियम पनि निकै कडा बनाइएको छ ।

अस्ट्रेलियाले कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणको लागि लगाएको कडा नियमको प्रशंसाका साथै परिवारहरुसँग छुट्याएको भन्दै आलोचना पनि हुँदै आएको छ। ८० प्रतिशतभन्दा धेरै मानिसले कोरोना खोप लगाएको स्थानमा भ्रमणमा थप स्वतन्त्रता दिने बताइएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले भने, ‘अस्ट्रेलियाका नागरिकको जीवन फिर्ता ल्याउने समय आएको छ ।’ अहिले अघि सारिएको योजनाअनुसार तत्काल विदेशीका लागि भने अस्ट्रेलियाको सीमा खुल्ने छैन तर सरकारले छिटै नै विदेशीलाई पनि आफ्नो मुलुक घुम्न दिने नियम ल्याउने विषयमा निर्णय गर्ने बताएको छ ।

अहिले अस्ट्रेलियामा रहेका मानिसले अत्यावश्यक काम वा अन्तिम अवस्थामा पुगेका आफन्त भेट्नका लागि मात्र मुलुक छाड्न पाउँछन् । त्यस्तै उसले बाहिरबाट आउने मानिसका लागि अनिवार्य १४ दिने होटल क्वारेन्टिनको नियम लगाएको छ । पूरा डोज कोरोना खोप लगाएका मानिसको लागि क्वारेन्टिन ७ दिनमा झारिनेछ ।

अहिले कोरोना सङ्क्रमणको जोखिमको कारण सिड्नी, मेलबर्न र क्यानबेरामा गरिएको लकडाउन जारी छ । जसको कारण अस्ट्रेलियामा पछिल्लो केही महिनामा खोप लगाउनेको सङ्ख्या पनि उल्लेख्यरुपमा बढेको छ ।

न्यु साउथ वेल्स अस्ट्रेलियामा सबैभन्दा पहिला ८० प्रतिशत नागरिकलाई खोप लगाउने राज्य बन्ने अवस्थामा देखिएको छ । अबको केही समयमा यो मापदण्ड पूरा हुने अपेक्षा गरिएको छ ।

यद्यपि अस्ट्रेलियाका केही राज्यले भने कोरोना सङ्क्रमण आफ्नो राज्यमा शून्यमा रहेको भन्दै सीमा नखोल्ने चेतावनी दिएका छन् । क्विन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलियाले कोरोना खोप लगाउनेको सङ्ख्या मापदण्डभन्दा धेरै भए पनि सीमा नखोल्ने चेतावनी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस