उपल्लो डोल्पाका किसानलाई उवा भित्र्याउने चटारो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपल्लो डोल्पाका किसानलाई उवा भित्र्याउने चटारो


१३ आश्विन २०७८, बुधबार


जाजरकोट । उपल्लो डोल्पाका किसानले हिउँदेबाली उवा भित्र्याउन थालेका छन् । उपल्लो डोल्पाका डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका किसानले उवा लगायतका हिउँदेबाली भित्र्याउन थालेका हुन् ।

उच्च हिमाली भेगका साथै अत्याधिक चिसोका कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको उवा अहिले भित्र्याउन लागेको डोल्पाबुद्ध गाउँपालिका–६ सिमेनका प्रेमा गुरुङले बताए । अन्य समयमा हिउँले सेताम्य हुने उपल्लो डोल्पामा अहिले उवा पाकेर पहेंलपुर अवस्थामा रहेको छ ।

बिहानदेखि बेलुकीसम्म यहाँका सबै स्थानीयवासी खेतबारीमै व्यस्त हुने गरेका छन् । उवा भित्र्याउनका लागि गाउँभरिमा एकै साइत कुरेर भित्र्याउने चलन छ । सबै ठाउँमा गहुँ उत्पादन नहुने नभए पनि सिमेन र भिजेर गाउँमा गहुँ उत्पादन हुने गर्दछ । अन्य ठाउँमा उवा बढी उत्पादन हुने गरेको छ । आकाशे पानीको भरमा लगाइने उवा र गहुँ वैशाखमा लगाइन्छ भने असोजमा भित्र्याउने काम हुन्छ ।

हिमालमा धेरै पानी पर्दैन । उवाका लागि पानी आवश्यक हुन्छ । पानी परेपछि यसले धेरै उत्पादन हुन्छ । उवाको रोटी, सातु र अरु परिकार बन्छ । रोटीको साथै सातु पनि स्थानीयवासीले खानाको रुपमा खान्छन् । सरकारी अनुदानको चामल नियमित नहुँदा उवालाई नै बाँडीचुँडी गरेर खाने गरिन्छ । व्यापारीले पु¥याएको चामल धेरै महंगो हुन्छ । कात्तिकको अन्तिमदेखि फेरि उपल्लो डोल्पाका तीन गाउँपालिकामा हिमपात शुरु हुन्छ ।

मुख्यबालीका रुपमा रहेको उवा र कम उत्पादन हुने गहुँ नै यहाँको मुख्य आहारा हो । आयातित अन्नमा भरपर्ने उपल्लो डोल्पाका सर्वसाधारण केही अन्न चीनको स्वशासित क्षेत्र तिब्बतबाट पनि ल्याउने गर्दछन् । हिउँद याममा हिमपात हुने भएकाले यहाँका किसानमध्ये कोही आफ्नै घरमा खाद्यान्नको जोहो गरी बस्छन् भने कोही तल्लो भेगतिर झर्ने गरेको स्थानीयवासी बताउँछन् ।

उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल दुई वर्षदेखि राम्रोसँग पुगेको छैन । स्थानीय बजारमा प्रतिक्वीन्टल १६ हजार रुपैयाँसम्म रकम खर्चे पनि सोचेझैं पाउन गाह्रो छ । अघिल्लो वर्षको भन्दा यो वर्ष गहुँ र उवा राम्रो उत्पादन हुने सम्भावना बढेको गुरुङले बताए । पानी धेरै परेका कारण उत्पादन बढ्ने अनुमान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस