दार्चुलाको त्रिदेशीय नाकाको सञ्चार सम्पर्कविहीन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दार्चुलाको त्रिदेशीय नाकाको सञ्चार सम्पर्कविहीन


१३ आश्विन २०७८, बुधबार


दार्चुला । सामरिक महत्त्व बोकेको यहाँको त्रिदेशीय नाकाको सञ्चार सम्पर्कविहीन बनेको छ । व्यास गाउँपालिकाको छांगरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको हो ।

गत वर्षबाट अवरुद्ध बनेको नेपाल टेलिकमको स्काइ फोनले काम नगर्दा स्थानीयवासीले समस्या भोग्नुपरेको छांगरुका बासिन्दा योगेश बोहराले बताए । गत वैशाख/जेठमा कुञ्चा सरेका स्थानीयवासीले फोन गर्न पाएका छैनन् । ‘छांगरुमा कहिलेकाहीँ भायनेटले काम गर्छ’, बोहराले भने, ‘भायनेट नचलेको भए हामी केही खबर गर्न सक्ने अवस्थामा हुने थिएनौँ ।’

भायनेट पनि सधैँ नचल्दा समस्या हुने गरेको छ । कहिलेकाहीँ महिनौँ दिनसम्म सम्पर्कविहीन बस्नुपरेको उनले बताए । नेपाल टेलिकमको स्काइ फोन चल्दैन । टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङले दुई पटक गएर मर्मत गरे पनि स्काइले काम गर्न नसकेको स्थानीयवासी बताउँछन् ।

एक वर्ष छांगरुमै फोरजी सेवा चल्ने नमस्तेको टावर जडान गरिएको भए पनि अझै सञ्चालनमा ल्याइएको छैन । टावरको काम भए पनि आवश्यक उपकरण आई नपुग्दा सञ्चालन हुन नसकेको टेलिकमले जनाएको छ ।

तिंकर गाउँमा भने कुनै पनि फोनले काम गर्दैन । छांगरुमा राखिएको स्काइ टावरले तिंकर गाउँमा काम गर्दैन । तिंकरका लागि यस वर्ष नमस्ते टावर राख्ने गरी सर्वेक्षण गरिएको टेलिकमका प्रमुख गुरुङले बताए ।

छांगरुमा रहेको स्काइ टावरमा सोलारपावर अभावले पनि काम गर्न नसकेको गुरुङले जानकारी दिए । नियमित घाम नलाग्दा पावर बचत हुन सकेको छैन । छांगरुका लागि थप सोलार प्यानल माग गरिएको उनले बताए।

मोबाइल फोनले काम नगर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि समस्या भोग्दै आएका छन् । छांगरुस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्ममा ल्याण्डलाइन फोन जोडिएको छ । ल्याण्डलाइन पनि नियमित सञ्चालन नहुँदा समस्या हुने गरेको सुरक्षाकर्मी बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस