केयूकेएलका कर्मचारी आन्दोलित, सिइओ शाक्यलाई कार्यालय प्रवेशमा रोक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

केयूकेएलका कर्मचारी आन्दोलित, सिइओ शाक्यलाई कार्यालय प्रवेशमा रोक


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलनमा छन् ।

उनीहरुले विभिन्न मागहरु राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यलाई दिउसो २ बजेसम्म कार्यालय प्रवेशमा दैनिक रुपमा रोक लगाइरहेका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्घ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठन, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड एकीकृत स्वतन्त्र कर्मचारी युनियन, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी कल्याण परिषद् र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी सङ्घ सम्बद्ध कर्मचारीले कार्यालय परिसरमा दैनिक धर्ना दिइरहेका छन् ।

मेलम्चीको पानी आएपछि कम्पनीको सञ्चालन खर्च बढ्ने भएकाले महसुल दर पुनरावलोकनको प्रक्रिया अघि बढाउनुपर्ने कर्मचारीहरुको माग छ ।

उनीहरुले कम्पनीको वार्षिक साधारण सभा गर्न, साधारण सेयर (आईपीओ) जारी गर्न, स्वतन्त्र सञ्चालक नियुक्त गर्न लगायतका माग राख्दै आन्दोलन थालिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठनका उपाध्यक्ष ओम ढकालले जानकारी दिए ।

कम्पनीको छैटौँ वाषिर्क साधारण सभाले गरेको निर्णयअनुसार सबै शेयर धनीलाई शेयरबापतको पुँजी दाखिला गर्न, ग्राहकलाई अनलाइनबाट सेवा प्रवाह गर्न, काठमाडौँ उपत्यका खानेपानी बोर्ड र कम्पनीबीच भएको लिज एग्रिमेन्ट पुनरावलोकन गर्न पनि कर्मचारीले माग गरेका छन् ।

कर्मचारीले विसं २०४० देखि नै कर्मचारीको सेवा सुविधामा पनि वृद्धि नभएको भन्दै असन्तुष्टि पोखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस