डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण


१० आश्विन २०७८, आइतबार


जाजरकोट । ठुलीभेरी नगरपालिका–९ डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ ।

कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । शनिबार मोतीपुर, डाँगीबाडालगायतका बस्तीका नागरिकलाई भेला गरेर सोलार वितरण गरिएको हो ।

नगरपालिकाको रु २० लाख र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रु ५० लाख गरेर कूल रु ७० लाख अनुदान सहयोगमा सम्पूर्ण वडावासी लाभान्वित हुने गरी सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिए। जनताको मागअनुसार प्रत्येक घरधुरीलाई २०० वाटको प्यानल र १५० एम्पियरको ब्याट्री निःशुल्क वितरण गरिएको भण्डारीको भनाइ छ ।

‘वर्तमान अवस्थामा सेवा दिइरहेको दुनैस्थित जैरीगार्ड जलविद्युत्को घण्टौँ लोडसेडिङका कारण जनताले हैरानी खेपेका थिए, उक्त समस्यालाई मध्यनजर राख्दै सोलार खरिद गरिएको हो, अब नागरिक अन्धकारबाट मुक्त भएका छन्’, उनले भने ।

प्रत्येक घरधुरीलाई खरिद र ढुवानीसहित रु ३९ हजार ५०० मूल्य बराबरको सोलार वितरण गरिएको भण्डारीले बताए । भरपर्दो बत्तीको सुविधा नहुँदा प्रायः अन्धकारमा बस्दै आएका आफूहरुले सोलार पाउँदा खुसी लागेको स्थानीयवासी सुनकुकारी कठायतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस